लक्ष्य अनुसार आयकर उठेपनि भ्याट उठेन




काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तमा लक्ष्य अनुसार आयकर उठेपनि मुल्य अभिबृद्धि कर(भ्याट) भने उठ्न नसकेको देखिएको छ ।

आन्तरिक राजस्व विभागका अनुसार चैत्र मसान्तसम्मको राजस्व संकलनमा गत वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७३/०७४ चैत महिनासम्मको राजस्व संकलनको लक्ष्य १ खर्व ६५ अर्व १६ करोड ४ लाख २५ हजार रहेकोमा १ खर्व ७२ अर्व १७ करोड ४ लाख ५९ हजार संकलन भई लक्ष्यको तुलनामा १०४ प्रतिशतको प्रगति भएको जनाएको छ ।

राजस्व अघिल्लो वर्षको भन्दा ३२ प्रतिशतले वृद्धि भएको छ ।

शिर्षकगत रूपमा हेर्दा आयकर तर्फ ९५ अर्व ३९ करोड ५६ लाख ४५ हजार, भ्याट ४३ अर्व ५ करोड ४६ लाख ५६ हजार र अन्तःशुल्क तर्फ ३२ अर्व ३६ करोड ४५ लाख ७६ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ आयकर, वहालकर, व्याजकर गरी १०७ प्रतिशत, भ्याट तर्फ ९९ प्रतिशत र अन्तशुल्क तर्फ १०४ प्रतिशत हो ।

त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः. ५९ करोड ४४ लाख ५४ हजार र ७६ करोड ११ लाख २८ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९५ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८६ प्रतिशत संकलन भएको छ ।

गत वर्षको तुलनामा आयकर वृद्धिदर ३२ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २६ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३९ प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २५ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३१ प्रतिशत रहेको छ ।

चैत्रसम्मको अवस्था हेर्दा यस विभागले लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ भने यस आर्थिक वर्ष २०७३÷७४ को वार्षिक लक्ष्य २ खर्व ३३ अर्व ६० करोड १५ लाख १७ हजार समेत पूरा हुने गरी कार्य सम्पादन गरिएको छ ।


क्लिकमान्डु