राष्ट्रपतिले भारतमा गएर भनिन्- नेपालमा लगानीका लागि प्रशस्त नयाँ क्षेत्र र सम्भावना छ



भारत। राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो वर्षमा नेपालले राजनीतिक तथा सामाजिक परिवर्तन सम्पन्न गरेकाले अब नेपालको लक्ष्य आर्थिक रुपान्तरणतर्फ केन्द्रित रहेको बताएकी छन् ।

भारत उद्योग परिसङ्घले नयाँ दिल्लीमा आज आयोजना गरेको नेपाल र भारतका उद्योगी– व्यापारीबीचको अन्तत्र्रिmयामा राष्ट्रपति भण्डारीले जतिसुकै स्रोतसाधन सम्पन्न भए पनि आजको विश्वमा कुनै पनि मुलुकले एक्लै आर्थिक उन्नति हासिल गर्न नसक्ने बताउँदै निजी र सरकारी क्षेत्रको संयुक्त लगानीका साथै देश देशबीचको सम्बन्धले मात्र समुन्नत विश्वको सम्भावना हुने विचार व्यक्त गरिन् । ‘नेपालमा लगानीका लागि प्रशस्त नयाँ क्षेत्र र सम्भावना छ, नेपालमा उत्पादन, सेवा र औद्योगिक क्षेत्रमा लगानी गर्न सकिन्छ,’ उनले भनिन् ।

नेपालले हालै गरेका दुई अन्तर्राष्ट्रिय लगानी सम्मेलनले नेपालमा लगानी भित्र्याउने र आर्थिक उन्नति हासिल गर्ने लक्ष्यलाई स्पष्ट दिशानिर्देश गरेको बताउँदै उनले नेपाललाई समृद्ध राष्ट्र बनाउने अभियानमा सघाउन भारतीय उद्योगी र लगानीकर्तालाई आग्रह गरिन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले एक वर्षभित्र तीन तहको निर्वाचन गरेर संविधानको कार्यान्वयनसँगै समावेशितालाई सुनिश्चित गरी नेपालले वर्षौंदेखि चाहेको विकासको लक्ष्य प्राप्त गर्ने उद्देश्यमा सरकार लागेको बताए । भारत विश्वमा एउटा उदीयमान अर्थतन्त्रका रुपमा आइरहेकाले नेपालले त्यसबाट फाइदा लिने सम्भावनाबारे गम्भीर भएर छलफल गर्नुपर्नेमा उनले जोड दिए ।

‘नेपालमा लगानीका लागि उपयुक्त वातावरण छ, नेपालसँग जलविद्युत्, पर्यटनलगायत क्षेत्रमा अपार सम्भावना रहेकाले त्यसलाई उपयोग गरी फाइदा लिन सहकार्यका लागि आग्रह गर्दछु,’ उनले भने।

कार्यक्रममा भारतीय विदेश राज्यमन्त्री विके सिंहले नेपाल र भारतबीच विशेष र महत्वपूर्ण सम्बन्ध रहेकाले दुवै देशले एकार्काबाट फाइदा लिनुपर्ने धारणा राखे।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा, भारत उद्योग परिसङ्घका अध्यक्ष आदर्श शर्मालगायतले यातायात सञ्जालको विस्तारसँगै सीमापार व्यापार, भन्सार सुविधालगायत विषयमा समझदारीसहित अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा उद्योगी व्यवसायीले दुई देशबीचको खुला सिमानालाई अवरोधका रुपमा भन्दा पनि त्यसबाट फाइदा लिन सक्नुपर्ने बताउँदै भारत एउटा उदीयमान अर्थतन्त्र मात्र नभई नेपालको समेत एउटा महत्वपूर्ण विकास साझेदार भएको बताए । कार्यक्रममा नेपाल र भारतका उद्योगी–व्यापारीलगायतको सहभागिता थियो ।


क्लिकमान्डु