२०७४ सालमा नेप्सेले अझै देखेन हरियाली



काठमाडौं । मंगलबार पनि ठूलो पहिरो गएपछि २०७४ सालले अझै नेप्सेमा हरियाली देख्न पाएन ।

२०७४ साललाई आर्थिक बृद्धि र राजनीतिक स्थिरताको बर्ष भनेर धेरैतिरबाट बिश्लेषण गरिए पनि नेप्सेमा भने अभै त्यसलाई स्वीकारीसकेको छैन ।

मंगलबार नेप्से ३९.५७ अंकले घटेर १६१२.०४ अंकमा आइपुगेको छ । आइतबार पनि नेप्से ४५ अंकले घटेको थियो । ०७३ सालको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १६९७ मा अडेको थियो ।
यद्यपी १ अर्ब ५० करोड रुपैंयाँको कारोबार हेर्दा भने नेप्सेले सामान्य करेक्सनको बाटो मात्र समातेको संकेत देखिन्छ । छोटो समयमा धेरै बढेका कारण नाफा बुक गर्नेहरु बजार पस्नु स्वभावीकै हो ।

साथै, चुनावको मिति नजिकिँदै गर्दा मधेशबादी दलहरु अझै सहमतिमा नआएका कारण पनि लगानीकर्ताहरु दोधारमा परेका हुनसक्छन् । केही समयको करेक्सन र राजनीतिमा केही सुधारका संकेतहरु देखापरे नेप्सेले गति लिने नै देखिन्छ । आज झण्डै ४५ अंक भन्दा बढि घटेको नेप्से फेरी बिचमा सुधारिन खोज्नुले पनि त्यही पुष्टि गर्छ । लगानीकर्ताहरु सकारात्मक त छन्, तर सचेत पनि देखिएका छन् ।

मंगलबार १४२ कम्पनीको २२ लाख ९ हजार ९ सय ३१ कित्ता सेयर कारोबार भएको छ । उत्पादन बाहेक सबै उपसूचकहरु राताम्मे भएका छन् । बैंकिङ ४४.०७, होटेल ४६.३७, बिकास बैंक ३८.८७, जलबिद्युत ७१.२४, बित्त १.९५, बीमा १८४.४७ र अन्य ६.०७ अंकले घटेका छन् । उत्पादन भने ८.९६ अंकले बढेको छ ।

मंगलबार सबैभन्दा बढि कारोबार हुनेमा एभरेष्ट बैंक, सानिमा बैंक, प्राइम लाइफ, एनसिसि बैंक र लक्ष्मी बैंक रहेका छन् । उनीहरुको क्रमशः ७ करोड २७ लाख, ७ करोड ११ लाख, ६ करोड २ लाख, ५ करोड ७५ लाख र ५ करोड ४३ लाख रुपैंयाँको कारोबार भएको छ ।

मंगलबार १० प्रतिशत कमाउनेमा अरुण काबेलीका लगानीकर्ता मात्र रहेका छन् । यस्तै लक्ष्मी बैंक, गुर्खाज फाइनान्स, सूर्योदय लघुबित्त र युनाइटेड फाइनान्सका लगानीकर्ताले ६.४५, ५.६२, ४.९६ र ४.६७ प्रतिशतले कमाएका छन् ।

मंगलबार बिजया लघुबित्त र एभरेष्ट बैंकका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् । वोमी माइक्रोफाइनान्सका लगानीकर्ताले पनि ९ प्रतिशतले गुमाएका छन् ।


क्लिकमान्डु