के एभरेष्ट र लक्ष्मी मर्जमा जान लागेका हुन् ?



काठमाडौं । एभरेष्ट बैंकले एकाएक बिशेष साधारणसभा बोलाएपछि सेयर बजारमा अनेक खालको अड्कल आएको छ ।

बजारमा एभरेष्ट र लक्ष्मी बैंक एक आपसमा मर्जरमा जान लागेको हल्ला ब्यापक छ । अहिले एभरेष्ट बैंकको चुक्ता पुँजी ४ अर्ब ५२ करोड छ । लक्ष्मी बैंकको चुक्ता पुँजी ६ अर्ब ३१ करोड छ ।

साधरणसभाको सूचनापछि पहिलो सेयर कारोबार मंगलबारको दिन एभरेष्टको सेयर मूल्य १० प्रतिशतले घट्यो भने लक्ष्मी बैंकको सेयर मूल्य ६.४५ प्रतिशतले बढ्यो । एभरेष्टको सेयर मूल्य अत्याधिक घटेपछि सर्किट ब्रेक समेत लागेको थियो ।

एभरेष्टले बैशाख २० मा बिशेष साधारणसभा बोलाएको छ । लगानीकर्ताले एभरेष्टबाट हकप्रद र यो वर्षको नाफाबाटपनि यो पालीजस्तै बोनस सेयर आश गरेका थिए ।

मंगलबार एभरेष्टको ७ करोड २७ लाख रुपैयाँको कारोबार भएको छ भने लक्ष्मीका ५ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ ।

एभरेष्ट बैंकले मर्जर वा प्राप्तीको प्रस्तावका लागि बिशेष साधारण सभा बोलाएपछि हकप्रदको आशमा रहेका लगानीकर्ता बेच्न हतारिँदा कारोबार रकम उच्च भएको हो । यस्तै एभरेष्ट लक्ष्मी बैंकसँग मर्जमा जान लागेको हल्लाका कारण लक्ष्मीको पनि उच्च कारोबार भएको हो । लक्ष्मीको सेयर मुल्य भने ६.४५ प्रतिशतले बढेको छ ।

दुबै बैंक सम्बन्ध स्रोतले अहिलेसम्म मर्जरको विषयमा केही खुलाएको छैन । यसभन्दा अगाडिपनि एभरेष्टको विभिन्न बैंकसँग मर्जरको हल्ला चलेको थियो । कुनैबेलाको किष्टलाई आफुमा मर्जर गराउने हल्ला चलेको एभरेष्टको त्यसपछि लामो समय कुमारी बैंकसँग मर्जरमा जाने हल्ला चलेको थियो । तर यी कुरा हल्लामा मात्र सिमित भए ।

विशेष साधारणसभाले गर्ने निर्णय प्रष्ट नभएपनि बजारमा भने एभरेष्ट र लक्ष्मीको मर्जर हल्ला व्यापक देखिएको छ । सेयर कारोबारले पनि त्यस्तै संकेत गरेको छ । यसको पुष्टी भने भएको छैन ।


क्लिकमान्डु