९८ करोड रुपैयाँ लगानीको तल्लो तादी जलविद्युत्को शिलन्यास



नुवाकोट । पाँच मेगावाट क्षमताको तल्लो तादी जलविद्युत् आयोजनाको आज शिलान्यास गरिएको छ ।

बुद्धभूमि हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको बाँधस्थल बालकुमारीको सिम्लेमा ज्येष्ठ नागरिक द्रोणप्रसाद खतिवडा,जयकुमार खड्का र दासलाल श्रेष्ठले संयुक्तरुपमा शिलन्यास गरे।

दुई वर्षभित्र निर्माण सम्पन्न हुने उक्त आयोजना निर्माणमा ९८ करोड रुपैयाँ लगानी लाग्ने प्राराम्भिक अनुमान गरिएको कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले जानकारी दिए । आयोजना निर्माणमा कम्पनीको ३५ प्रतिशत र सिद्धार्थ बैंकको नेतृत्वमा विभिन्न पाँच बैंकको ६५ प्रतिशत लगानी रहेको छ ।

आयोजनाबाट उत्पादित बिजुली समुन्द्रटार–त्रिशूली–३ बी हब १३२ केभी प्रशारण लाइनमार्फत केन्द्रीय प्रशारणमा जोड्ने कम्पनीले जनाएको छ । बालकुमारीको सिम्लेमा बाँध बनाएर दुई हजार ८०० मि पाइपलाइनमार्फत थप्रेकको नौटारीमा विद्युत् उत्पादन गृह बनाइनेछ ।


क्लिकमान्डु