४५ टन सुन उत्खनन हुने



बुर्किना फासोको सुन उत्खनन सन् २०१७ मा ४५ टन पुर्याउने यहाँका प्रधानमन्त्री पाउल कावा थिवाले संसद् सम्बोधनका क्रममा बताएका छन् ।

खानीमा भएका गतिविधिको प्रगति हेर्दा यस वर्षभर ४५ टनभन्दा बढी सुन उत्खनन गरिने देखिएको थिवाले बताए । उनले सन् २०१७ मा दुई नयाँ खानीबाट समेत सुनको उत्खनन सुरु गरिएकाले उत्पादनमा वृद्धि हुने देखिएको बताए । उनका अनुसार बुर्किनाफासोमा अहिलेसम्म आठ सुन खानी सञ्चालनमा रहेकामा अबदेखि सो सङ्ख्या १० पुग्नेछ ।

त्यसैगरी पश्चिम अफ्रिकी राष्ट्र बुर्किनाफासोमा जिङ्कको उत्पादनमा पनि वृद्धि गर्दै एक लाख ३० हजार टन उत्खनन गरिने र यो अहिलेसम्मकै सबैभन्दा धेरै हुने प्रधानमन्त्री थिवाले बताए ।

बुर्किना फासोमा खानी सञ्चालनबाट सन् २०१६ मा ७० लाख अमेरिकी डलर राजस्व आम्दानी भएको थियो । अघिल्लो वर्षको भन्दा १२.८ प्रतिशत वृद्धि हुँदा अफ्रिकी यस मुलुकको राजस्व आम्दानी झन्डै पौने चार करोड अमेरिकी डलर पुगेको हो ।

पछिल्ला वर्षमा राष्ट्रिय राजस्व सङ्कलन दर बढाउने उद्देश्यले यहाँको सरकारले खानीजन्य उत्पादनमा वृद्धि गरेको छ । रासस/सिन्ह्वा


क्लिकमान्डु