नयाँ बीमा कम्पनीले लाइसेन्स पाए, २१ दिन भित्रमा आवश्यक कागजात पेश गर्नुपर्ने




काठमाडौं । बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिने भएको छ । समितिको चैत ३० गते बसेको संचालक समिति बैठकले लाइसेन्स दिने निर्णय गरेको हो ।

कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर लाइसेन्सको लागि समितिमा निवेदन दिएका कम्पनीलाई चाहिने भए लाइसेन्स लिन आउनु भनेर समितिले पत्राचार गर्न लागेको छ । समितिले २१ दिनको म्याद दिएर निबेदन दिएका कम्पनीलाई लाइसेन्स लिनको लागि आवश्यक कागजात पेश गर्न आग्रह गर्दै पत्राचार गर्न लागेको हो ।

‘कम्पनी दर्ता भइसकेका र यसअघि नै निवेदन दिएका तथा मापदण्ड पुर्याउन सक्ने सबै कम्पनीलाई लाइसेन्स दिने निर्णय भएको छ, २१ दिनभित्रमा आवश्यक कागजात पेश गरिसक्न पत्राचार गर्ने निर्णय गरेर उठेका हौं,’ समितिका एक संचालकले क्लिकमाण्डूसँग भने ।

यद्यपि समितिका अध्यक्ष चिरन्जीबी चापागाई र प्रबक्ता श्रीमान कार्कीले लाइसेन्स नदिएको दाबी गरेका थिए । चैत ३१ गते क्लिकमाण्डूसँग फोनमा कुरा गर्दै अध्यक्ष चापागाई र प्रवक्ता कार्कीले सो बोर्ड बैठकले लाइसेन्स दिने निर्णय नगरेको दाबी गरेका थिए । कार्की समितिको संचालक समितिको सदस्य सचिब पनि हुन् ।

चैत ३० गतेको बैठकमा सबै संचालक उपस्थित नभएको र हस्ताक्षर हुन बाँकी रहेकोले सो कुरा गोप्य राखिएको हुन सक्ने समितिका अर्का संचालकले बताए ।

‘समितिका अध्यक्ष र प्रवक्ताले नै होइन भन्छन् भने मेरो पनि नाम नलेखिदिनु होला, मैले हस्ताक्षर गरेको समितिको माइन्यूटमा कम्पनी दर्ता भइसकेका र समितिमा निवेदन दिएकालाई २१ दिनको म्याद दिएर लाइसेन्स लिन आउन आग्रह गर्ने भन्ने उल्लेख छ, सबै संचालकको हस्ताक्षर नभएको हुनाले गोप्य राखिएको होला,’ ती संचालकले क्लिकमाण्डूसँग भने ।

समितिले आइतबार पाइपलाइनमा रहेका कम्पनीलाई आवश्यक प्रक्रिया पूरा गरेर लाइसेन्स लिन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको स्रोतले जानकारी दिएको छ । सो बैठकले करिब ८ नयाँ कम्पनीलाई लाइसेन्स लिन आउन आग्रह गर्ने निर्णय गरेको छ । अर्थात अब ८ वटा नयाँ बीमा कम्पनी थपिने सम्भावना बढेर गएको छ ।


क्लिकमान्डु