बेलहिया बुटवल सडकमा स्वचालित बत्ती जडान हुँदै



लुम्बिनी । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको बेलहिया–बुटवल २४ किलोमिटरको ६ लेन सडकमा सौर्य (सोलार) बत्ती जडान गर्ने कार्य तीव्ररुपमा अगाडी बढाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त सडकखण्डमा अहिलेसम्म झन्डै ४५ प्रतिशत काम पूरा भएको आयोजनाले जनाएको छ । सडक पूरा भएपछि सबैमा करिब एक हजार ५०० सौर्य बत्ती जडान हुने र त्यसपछि उक्त सडक पूरै झिलिमिली हुने आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर लिलाबहादुर भण्डारीले पहिलो चरणमा बुटवल चौराहादेखि तिलोत्तमाको ड्राइभरटोलसम्म दुई करोड रुपैयाँ भन्दा बढी लागतमा १५० सडक सौर्य बत्ती जडान गरिने बताए । ‘सडक बत्ती स्वचालित (अटोमेटिक) हुनेछन्, साँझ परेपछि आफैँ बल्नेछन् भने, उज्यालो भएपछि आफैँ निभ्ने छन्,’ उनले भने ।

दोस्रो चरणमा ड्राइभरटोदेखि मणिग्रामसम्म फेरि १०० सोलार जडान गर्ने योजना रहेको सो आयोजनाले जनाएको छ । सडक बत्तीमा खपत भइरहेको विद्युतीय ऊर्जालाई घटाउँदै सरकारले विभिन्न सहरमा सौर्य ऊर्जाबाट बत्ती बाल्ने अभियानलाई तीव्रता दिएको छ ।

सडकमा सौर्य बत्ती जडानले बिजुलीको खपतसँगै सडकको सुन्दरतालाई बढाउने अपेक्षा गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण थालिएको यो सडकलाई झिलिमिली बनाउने जिम्मा नवलपरासीस्थित महेश निर्माण कम्पनीले लिएको हो ।

अहिले बेलहिया–बुटवल सडक निर्माण कार्य तीव्ररुपमा भइरहेको छ । बुटवलको राजमार्ग चौराहादेखि ड्राइभरटोलसम्म ३५/३५ मिटरको दूरीमा सडक बत्ती जडान कार्य भइरहेको जनाएको छ ।


क्लिकमान्डु