मतदाता शिक्षा शुरु, गाउँगाउँ स्वयंसेवक परिचालन



चितवन । स्थानीय निकायको निर्वाचन र मतदान प्रक्रियाबारे मतदातालाई सुसूचित पार्न जिल्ला निर्वाचन कार्यालले शुक्रबारदेखि मतदाता शिक्षा सुरु गरेको छ ।

चैत २२ गतेदेखि जिल्लाका तीन सय ७६ मतदाता शिक्षा स्वयंसेवकलाई तालिम दिएर आजदेखि गाउँगाउँमा परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए ।

उनका अनुसार जिल्लामा सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेवीका र शिशु शिक्षिकालाई मतदाता शिक्षा स्वयंसेवकको रुपमा परिचालन गरिएको हो ।

जिल्लामा हरेक मतदान केन्द्रमा एक जना पर्ने गरी तीन सय ७६ मतदान केन्द्रमा तीन सय ७६ जना स्वयंसेवक परिचालन गरिएको कार्यालयले जानकारी दिएको छ। उनीहरुले गाउँगाउँमा मतदान गर्ने तरिकासहित मतदातालाई मताधिकारबारे सुसूचित गराउने छन् ।

मतदाता शिक्षा कार्यक्रमको अभियान भने बदर मत कम गराउन र मतदान प्रतिशत बढाउनु मुख्य लक्ष्य रहेको ढकालले बताए । चितवनमा आजदेखि २८ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ ।

मतदाता शिक्षा दिन आफू तयार रहेको बताउँदै भरतपुर– ४ बेलचोककी स्वयंसेवक सुनिता शर्मा मतदातालाई सुसूचित बनाउन पाउनु आफ्ना लागि महत्वपूर्ण अवसर भएको बताए । अर्को मतदाता शिक्षा स्वयंसेवक कृति कुँवर गाउँगाउँमा पुगेर मतदाताले मतदान प्रक्रियामा अवलम्बन गर्नुपर्ने कुरा सिकाउन आफू सक्रिय भएको जानकारी दिइन्।

यसवर्ष दलितसहित २ महिला अनिवार्य निर्वाचित हुनुपर्ने व्यवस्था भएकाले मतदातालाई सो विषयमा समेत सुसूचित गराउने कार्यालयले जानकारी दिएको छ । एक मतदाताले यसपटक सात वटा भोट हाल्नुपर्ने जिल्ला निर्वाचन अधिकारी ढकाल बताउँछन् । प्रमुख, उपप्रमुखसहित वडाध्यक्ष, महिला सदस्य २ र खुला सदस्य २ जनाका लागि मतदान हुन्छ । रासस


पुष्प दुलाल