मन्त्री चौधरीद्वारा पुष्प प्रबद्र्धन कार्यक्रमको अनुगमन



काठमाडौं । कृषि बिकास मन्त्री गौरीशंकर चौधरीले बुधबार बिहान पुष्प प्रबद्र्धन कार्यक्रमको अनुगमन गरेका छन् । मन्त्री चौधरीले राजधानीस्थित बिभिन्न नर्सरी र कटफ्लावर फार्मको अनुगमन गरेका हुन् ।

बालुवाटारस्थित बागमती फ्लोरा, थलीस्थित एभरेष्ट फ्लोरिकल्चर र जोरपाटीस्थित ओम नर्सरीको मन्त्री चौधरीले अबलोकन गरेका थिए ।

अनुगमनपछि मन्त्री चौधरीले सरकारले पुष्प क्षेत्रमा गरेको लगानीको निजी क्षेत्रले उचित सदुपयोग गरेको बताउँदै फ्लोरिकल्चर क्षेत्रसँग मन्त्रालयले गर्दै आएकोे साझेदारी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिए ।

सरकारको सहयोग बिना पनि यो क्षेत्रमा निजी क्षेत्रको लगानी उल्लेख्य रहेको बताउँदै पहिलो पटक अनुगमनमा निस्किएका मन्त्री चौधरीले फ्लोरिकल्चर क्षेत्रलाई मन्त्रालयको सहयोग भविष्यमा जारी रहने समेत बताए ।

अनुगमनमा मन्त्रीसंगै पुगेका फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले ग्रीन हाउसमा हालसम्म कृषि बिकास मन्त्रालयको ५ करोड लगानी भइसकेको र ४ करोड लगानी गर्ने क्रममा रहेको बताए ।

उनले आधुनिक पूर्वाधारमा लगानी नगरेसम्म फूलमा आत्मनिर्भर हुन नसकिने बताउँदै यो क्षेत्रमा मन्त्रालय र नीजी साझेदारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।


क्लिकमान्डु