हाइटेक टनेलमा तरकारी खेती गर्दै सापकोटा, वार्षिक आठ लाख रुपैयाँ कमाइ



बागलुङ । बागलुङ नगरपालिका–२ ढोडेनीका अगुवा कृषक त्रिलोचन सापकोटाले आधुनिक प्रविधिको प्रयोग गरेर तरकारी खेती गरेका छन् ।

तरकारीलगायत बालीलाई रोग किराबाट जोगाउन, गुणस्तरीय तरकारी उत्पादन वृद्धि गर्दै लागत घटाउने लक्ष्यका साथ उनले ‘हाइटेक टनेल’ भित्र तरकारी खेती गरेका हुन्। विगत २५ वर्षदेखि तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका ४३ वर्षीय सापकोटाद्वारा सञ्चालित कालीगण्डकी कृषि फार्ममा पाँचवटा ठूला टनेल (प्लास्टिक घर) रहेका छन् ।

एकतले घरभन्दा अग्लो र डेढ रोपनी क्षेत्रफलसम्म फैलिएको प्लास्टिकले छाएको हाइटेक टनेललाई किरा छिर्न नमिल्ने मसिनो जालीले बेरिएको छ । उनले टनेलभित्र गोलभेँडा, खुर्सानी, घिरौँला, बोडी, गाजरलगायत मौसमी तथा बेमौसमी तरकारी लगाएका छन् ।

लहरेबालीका लागि स्थायी प्रकृतिको झाल बनाइएको टनेलभित्र लगाइएको प्रत्येक बिरुवाको जरामा थोपा प्रविधिबाट सिँचाइ गर्ने व्यवस्था मिलाइएको छ । ‘टनेलभित्र बेमौसमी तरकारी खेती गरेर बढी मूल्य पार्न सकिनुका साथै रोग कम लाग्ने, उत्पादन गुणस्तरीय हुने र श्रमशक्तिको बचत हुने भएकाले यस्तो प्रविधिको प्रयोग गरेको हुँ,’ सापकोटाले भने ।

गाईभैँसीको गहुँत सङ्कलन गरेर विषादीका रुपमा प्रयोग गरिएको छ । खुल्ला ठाउँको तुलनामा टनेलभित्र खेती गर्दा दोब्बर बढी उत्पादन र आम्दानी लिन सकिने उनी बताउँछन् । ‘तीन वर्षदेखि नयाँ प्रविधि अपनाएको हुँ,’ सापकोटाले भने ।

सापकोटालाई उनकी श्रीमती चित्रकुमारी र घरपरिवारका अन्य सदस्यले सहयोग गर्दै आएकी छन् । पाँच जनाले रोजगारी पाएका छन् । तरकारी खेतीबाट वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए ।

‘बिक्री गर्न कुनै समस्या छैन,’ उनले भने । सापकोटाले कृषि फार्मलाई व्यवस्थित र आधुनिकीकरण गर्न हालसम्म २० लाख रुपैयाँ लगानी गरेका छन् । व्यावसायिक कृषि तथा बजार आयोजना (प्याक्ट)ले दश लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । पाँच लाख रुपैयाँ लगानीमा तयार हुने एउटा हाइटेक टनेलभित्र पाँच वर्षसम्म खेती गर्न सकिने सापकोटा बताउँछन् ।

सापकोटाले उत्पादन गरेको तरकारी बाग्लुङ, बेनी, कुष्मा, मुस्ताङसम्म बिक्री हुन्छ ।  राज्यले व्यावसायिक कृषिको विकासका लागि कृषि पेसाको प्रवद्र्धन गर्दै दिगो बजार व्यवस्थापन र गुणस्तरीय बीउ उपलब्ध गराउन आवश्यक रहेको सापकोटाको भनाइ छ ।

देशभर किसान आधुनिक प्रविधिको प्रयोग गरी कृषिको व्यावसायीकरणमा उन्मुख भएको कृषि सूचना तथा सञ्चार केन्द्र हरिहरभवन ललितपुरका सूचना अधिकारी नारायण न्यौपानेले बताए।


क्लिकमान्डु