रेडक्रसको पाँच अर्ब रुपैयाँको बजेट पारित



सिन्धुली । नेपाल रेडक्रस सोसाइटीको सिन्धुलीमा सम्पन्न ४६औँ केन्द्रीय महाधिवेशनले २०७४/७५ का लागि साधारण र विकासतर्फ गरी पाँच अर्ब १४ करोड ४० लाख रुपैयाँको प्रस्तावित बजेट पारित गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले हालै गठन भएका स्थानीय संरचनामा गाउँपालिका र नगरपालिकाको सङ्ख्या र भौगोलिक क्षेत्रसँग वर्तमानमा कायम रहेका नेपाल रेडक्रसका उपशाखाको सङ्ख्या एवम् भौगोलिक कार्य क्षेत्रका सम्बन्धमा प्राविधिक र व्यावहारिक कठिनाइ हुने देखिएकाले सो सम्बन्धमा विशेष अध्ययन गरी स्पष्ट नीतिगत व्यवस्था लिने कुरा सो सभामा जानकारी दिए ।

भूकम्पपश्चात् नेपाल रेडक्रस सोसाइटीले प्रभावित ‘क’ वर्गका १४ वटा जिल्लामा  सञ्चालन गरेको पुनः लाभका गतिविधि समुदायमा अत्यन्त प्रभावकारी देखिएकाले आगामी दिनमा ‘ख’ वर्गमा परेका १७ जिल्लामा पनि नेपाल रेडक्रसले कार्यक्रमको विकास गरी स्रोतको खोजी कार्य अगाडि बढाउन आह्वान गरेको छ ।

नेपाल रेडक्रसले अहिले २० भन्दा बढी अन्तर्राष्ट्रिय साझेदार निकाय सामान्य र आपत्कालीन अवस्थामा सहयोग गर्न क्रियाशील रहँदै सरकारका सरोकारवाला निकायसँग समन्वय गरिरहेको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सभाको ४६औँ महाधिवेशनको महामन्त्री देवरत्न धाख्वाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै नेपाल रेडक्रसको सङ्गठनात्मक सञ्जाल र सदस्यको विवरण प्रस्तुत गरे । उनले असार मसान्तसम्म नेपाल रेडक्रस सोसाइटीअन्तर्गत ७५ जिल्ला शाखा, एक हजार ५०८ उपशाखा, ११७ सहयोग समिति र  ६ हजार २७५ जुनियर युवा रेडक्रस सर्कल गरी सात हजार ९७५ वटा निकाय रहेको जानकारी गराए ।

यसैगरी सोसाइटीमा मानार्थ, यशस्कर, विशिष्ट आजीवन, साधारण र जुनियर युवा सदस्य गरी १० लाख ६० हजार १२३ सदस्य रहेको बताए । यस्तै सोसाइटीअन्तर्गत ४३ संस्थागत सदस्य रहेका छन् ।

प्रतिवेदन अवधिमा सम्पादन गरिएका सङ्गठन विकास, विपद् तथा सङ्कट व्यवस्थापन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवा, सञ्चार तथा मानवीय मूल्य प्रवद्र्धन, लैङ्गिक तथा समावेशीकरण, सामुदायिक उत्थानशील कार्यक्रम, आकस्मिक खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम, भूकम्पप्रतिकार्य कार्यक्रमअन्तर्गतका आवास, खानेपानी तथा सरसफाइ, स्वच्छता, स्वास्थ्य, जीविकोपार्जन र संरक्षण, लैङ्गिकता तथा समावेशीकरण कार्यक्रमबाट ७९ लाख २४ हजार तीन सय ३२ जना लाभान्वित भएको  रेडक्रसले जनाएको छ ।


क्लिकमान्डु