४५ सयसम्म भारु साट्दै गर्न अर्थमन्त्रालयको सहमति




काठमाडौं । अर्थमन्त्रालयले प्रतिब्यक्ति ४५ सयसम्मका प्रतिबन्धित भारु नोट साट्दै गर्न नेपाल राष्ट्र बैंकलाई अनुमति दिएको छ ।

भारतले प्रतिब्यक्ति ४५ सयसम्म प्रतिबन्धित भारु नोट साट्न सकिने भने पनि नेपाली पक्षले प्रतिब्यक्ति २५ हजार रुपैयाँसम्म भारु साटिदिनुपर्ने अडान लिएपछि प्रक्रिया त्यसै अलमलिएको थियो ।

केही साता अगाडि काठमाडौं आएको भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डियाका कार्यकारी निर्देशक सहितको प्रतिनिधि मण्डलले प्रतिब्यक्ति ४५ सयभन्दा बढी भारु साट्न नसकिने अडान राखेको थियो ।

तर अर्थमन्त्री कृष्णबहादुर महराले भारतीय प्रतिनिधिसँग छलफल गरिरहेको नेपाली पक्षलाई टेलिफोन गरेर प्रतिब्यक्ति २५ हजार भारुभन्दा कम साट्ने भए बरु नसाट्ने, त्यो भन्दा कम हुदै नहुने अडान राख्न निर्देशन दिएका थिए ।

अर्थमन्त्रीको निर्देशन अनुसार नेपाली पक्षले प्रतिब्यक्ति २५ हजारसम्मकै अडान राखेपछि प्रक्रिया बिचमै रोकिएको थियो । यसरी प्रक्रिया रोकिएपछि नेपाल राष्ट्र बैंकले भारतीय पक्षसँग भएको सबै बिषय खुलाएर अर्थमन्त्रालयमा पत्राचार गरेको थियो ।

अर्थमन्त्रालय मंगलबार (आज) नेपाल राष्ट्र बैंकलाई पत्रको जवाफ पठाउँदै अहिले ४५ सयसम्म भएपनि साट्दै गर्न र २५ हजारको सीमासम्म साट्न पाउनुपर्ने सुबिधाको लागि कुरा गर्दै गर्न राष्ट्र बैंकलाई निर्देशन दिएको हो ।

अर्थमन्त्रालयबाट प्रतिब्यक्ति ४५ सयसम्मको भारु भएपनि साट्दै गर्न अनुमति आएको गभर्नर कार्यालयका निर्देशक तथा सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।


क्लिकमान्डु