बजार पाउन थालेपछि किसान किबी खेतीतर्फ आकर्षित



दोलखा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनसँगै किसान किबीखेतीतर्फ आकर्षित भएका छन् ।

किबीले बजार पाउन थालेपछि किसानको उत्साह बढेको हो । कृषि विकास कार्यालयले जिरी नगरपालिका, श्यामा र हाँवालाई किबी पकेट क्षेत्रका रुपमा अगाडी बढाएको छ ।

किबीखेतीसँगै यहाँ अलैँचीका बिरुवा वितरण गरी कार्यक्रम सञ्चालन गरिएको छ । बाह्र हजारभन्दा बढी किबीका बिरुवा किसानलाई वितरण गरिएको जिरी सेवा केन्द्रका प्राविधिक सहायक काजीमान प्रधानले जानकारी दिए।

कृषिलाई आधुनिकीकरण गरी किसानलाई कृषिमा नै आत्मनिर्भर गराई उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउन परियोजना लागू गरिएको हो । पकेट क्षेत्रका किसानलाई प्रत्यक्ष सहभागी गराउनका लागि अहिले कृषि विकास कार्यालयले बिरुवा वितरणदेखि मल, आवश्यक थाक्रा, कृषि औजारलगायत सामग्री आधा मूल्यमा उपलब्ध गराउँदै आएको छ ।

किबी फल भण्डारणका लागि चिस्यान केन्द्रको समेत व्यवस्था गर्ने कार्यालयले जनाएको छ । सामूहिक रुपमा खेती गर्न चाहने समूहलाई विशेष प्राथमिकता दिएपछि किसान सामूहिक खेतीतर्फ आकर्षित भएका छन् ।


क्लिकमान्डु