एउटै याममा दुईपटक सगरमाथा चढ्ने तयारी



सोलुखुम्बु । सगरमाथा आरोहीले सामान्यतया एक याममा एकपटक मात्र सगरमाथा आरोहण गर्छन् । तर एक भारतीय महिला एकै याममा दुईपटक सगरमाथा आरोहण गर्ने अनुमतिसहित आज सगरमाथा आधारशिविर पुगेकी छन् ।

सैँतीस वर्षीया अंशु जानसेन्पा आज आधार शिविर पुगेको ग्रिन हिमालय ट्रेकिङ कम्पनीका म्यानेजर दावा शेर्पाले जानकारी दिए।

एकै याममा दुईपटक आरोहण गर्न लागेकी अंशुले सामान्य रुट प्रयोग गर्नेछिन् । दुईपटक आरोहणका लागि उनले पर्यटन विभागमा दुईपटकका लागि २२ हजार डलर बुझाएर अनुमति लिइसकेको पर्यटन विभागको पर्वतारोही शाखाका प्रमुख लक्ष्मण शर्माले जानकारी दिए ।

ती भारतीय महिलाका साथै यसपालि विभिन्नखालका कीर्तिमान राख्ने प्रस्तावसहित निवेदन आएको शाखाले जनाएको छ । एउटा भारतीय टोलीले बिना अक्सिजन सगरमाथा चढ्ने भनेर निवेदन आएको छ भने नेपालका पाका आरोही मीनबहादुर शेरचनले सबैभन्दा बढी उमेरमा सगरमाथा चढ्ने कीर्तिमानका लागि स्वीकृति लिइसकेका छन् ।


क्लिकमान्डु