आगामी बर्ष नै सबै स्थानीय तहमा बैंकका शाखा पुर्याइने




काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सबै स्थानीय तहमा कम्तिमा पनि एउटा बैंकको शाखा पुर्याउने गृहकार्य गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

सबै स्थानीय तहमा आगामी आर्थिक बर्ष भित्रमा कम्तिमा पनि एउटा बैंकको शाखा पुर्याउने तयारी थाल्न अर्थमन्त्री महराले निर्देशन दिएका हुन् । महराको निर्देशन पछि सरकारले हालै गठन गरेको ७४४ स्थानीय तहमा कम्तिमा पनि एउटा बैंकका शाखा पुग्नेछ ।

सरकारले जनताको लागि संचालन गरेको सामाजिक सुरक्षाको लागि आर्थिक सहयोग कार्यक्रमहरु बैंक खाता मार्फत प्रदान गर्ने भएकोले पनि बैंक शाखा तत्काल पुर्याउन लागिएको हो ।

अहिले सरकारले अबकास प्राप्त कर्मचारीलाई पेन्सन, तथा समान्य नागरिकलाई बृद्ध, बिधवा, अपाङ्ग जस्ता ब्यक्तिहरुलाई मासिक भत्ता दिदै आएको छ । केही दिन अगाडि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपालले सार्बजनिक कार्यक्रममै सबै स्थानीय तहमा बैंकका शाखा पुर्याउने गरी गृहकार्य थाल्न बैंकका अधिकारीहरुलाई मौखिक आग्रह गरेका थिए ।

अर्थमन्त्री महराको यस्तो निर्देशन पछि सबै स्थानीय तहमा बैंकका शाखा पुर्याउने प्रक्रिया सुरु भएको छ । यसको ब्यवस्थापन भने अर्थमन्त्रालय अन्तरगतको वित्तीय ब्यवस्थापन महाशाखाले गर्ने अर्थमन्त्रीको प्रेस संयोजक त्रिभुवन पौडेलले जानकारी दिए ।


क्लिकमान्डु