विनोद चौधरीलाई महासंघ फर्काएको भन्दै अध्यक्ष मुरारकालाई बधाईको ओइरो



काठमाडौं । फोर्ब्सले अर्बपतिमा सूचिकरण गरेका एकमात्र नेपाली विनोद चौधरी करिब २ दशक पछि पहिलोपटक सोमबार नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा पुगे ।

०५२ सालमा दोस्रो कार्यकालका लागि महासंघको अध्यक्षमा चुनाव हारेपछि चौधरी महासंघको सार्वजनिक कार्यक्रममा गएका थिएनन् । चौधरीले १५ वर्षअघि उद्योग वाणिज्य महासंघको समानान्तर संस्था नेपाल उद्योग परिसंघ गठन गरेका थिए ।

यसरी २१ वर्षसम्म महासंघको कार्यक्रममा पाइला नटेकेका चौधरी यो पटक भने महासंघले दिएको सम्मान थाप्न पुगे । चौधरीले आफ्नो कार्यकालमा टेकुस्थित महासंघको ४ तले भवन बनाएको भन्दै सम्मान गरिएको हो ।

चौधरीलाई महासंघको कार्यक्रममा देखेपछि देशभरबाट आएका महासंघका मतदाता तथा प्रतिनिधिहरु निकै प्रफुल्लित देखिए । कतिपयले चौधरीसँग फोटो खिचाए भने कतिफयले सेल्फी ।

२१ वर्षपछि महासंघ फर्किंदा पनि चौधरीको क्रेज घटेन, बरु बढेको देखियो । चौधरीलाई पनि महासंघको कार्यक्रममा ल्याउन सफल भएको भन्दै व्यवसायीहरुले महासंघका अध्यक्ष पशुपति मुरारकालाई बधाई ओइर्याए ।

 

 


क्लिकमान्डु