दुई वर्षपछि भूकम्पपीडितसँग आवास पुनर्निर्माण अनुदान सम्झौता सुरु



पर्वत। पर्वतका भूकम्पपीडितसँग करिब २ वर्षपछि निजी आवास पुनर्निर्माण अनुदान सम्झौता प्रक्रिया सुरु भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय तथ्याङ्क विभागअन्तर्गत जिल्ला तथ्याङ्क कार्यालयले जिल्लाका सबै भूकम्पपीडितको लगत सङ्कलन गरिसकेपछि आइतबारदेखि अनुदान सम्झौता सुरु भएको हो । पर्वतको मोदी गाउँपालिकाबाट निजी आवास पुनर्निर्माण अनुदान सम्झौता तथा प्रथम किस्ता वितरण अभियान सुरु भएको हो । जिल्लामै सबैभन्दा बढी क्षति भएको मोदी गाउँपालिकाअन्तर्गतको वडा नं ६ साबिकको तिलाहार गाविसबाट वितरण अभियान सुरु गरिएको छ ।

पर्वतमा भूकम्पबाट कुल १२ हजार एक सय १९ घरमा क्षति पुगेको भए पनि पहिलो चरणमा लगत सङ्कलनमा समावेश भएका चार हजार तीन सय ७३ पीडित परिवारलाई वितरण कार्य थालिएको हो । यो जिल्लाका ३८ गाविस र एक नगरपालिकाको तथ्याङ्क हो । वाँकी साबिकका आठ गाविसको प्रमाणीकरण हुन बाँकी रहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुगमन तथा मूल्याङ्कन विशेषज्ञ चिकित्सक योगेन्द्र रिजालले पीडितलाई सम्झौता गराएर अभियानको सम्झौता सुरुवात गरेका हुन्। पीडितसँग सम्झौता भइसकेपछि वैशाख १२ गतेभित्र नै पूर्ण क्षति भएका बैंक खातामा रकम पठाइसक्ने रिजालले जानकारी दिए ।

जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी विष्णुप्रसाद भुसालले पीडितलाई बर्खायाम सुरु हुनुभन्दा अगावै रकम वितरण गरिसक्ने र तत्काल पुनर्निर्माणको काम सुरु गरिने बताए। कार्यक्रममा निमित्त प्रजिअ डिल्लीराम शर्माले राज्यले तोकेको मापदण्ड र यसअघि गरिएको लगत सङ्कलनमा परेकालाई तत्काल राहत दिन निरन्तर लागिपर्ने बताए ।

सो अवसरमा सम्झौताका लागि सहभागी पीडितले सरकारले दिने भनेको तीन लाख रुपैयाँ निकै न्यून रकम भएकाले यसलाई बढाएर पाँच लाख पुर्याउन माग गरेका थिए । उनीहरुले तीन लाख रुपैयाँले मात्र आवश्यकता अनुसारको घर नबन्ने भन्दै असन्तुष्टि जनाएका थिए ।

कतिपय पीडितले घर बनाइसकेको भए पनि भूकम्प प्रतिरोधी भयो या भएन भन्नेबारे अन्यौल हुँदा राहत पाउनेमा पनि अन्यौलमा परेको गुनासो गरेका छन् । वैशाख १२ को भूकम्पबाट पर्वतका साबिकका ३५ गाविस बढी मात्रामा प्रभावित बनेका थिए ।

 


क्लिकमान्डु