प्राधिकरणले उद्योगीलाई पत्रचार गर्दै भन्योः चिनी उद्योगबाट बिजुली निकाल्नुस्



काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले बिजुली उत्पादन तत्काल सुरु गर्न चिनी उद्योगीलाई पत्राचार गरेको छ । चिनी उद्योगबाट बिद्युत निकाल्न सकिने चर्चा यसअघि नै चलेको भए पनि प्राधिकरणले पत्राचारै गरेर उद्योगीसँग आग्रह गरेको हो ।

चिनी उद्योगबाट उत्पादित बिजुली सुख्खायाममा निकालेर प्रयोग गर्न सकिने प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले बताए । चिनी उद्योगबाट ८० देखि १०० मेगाबाटसम्म बिजुली उत्पादन गर्न सकिने अध्ययनहरुले देखाएका छन् ।

‘सुख्खायाममा खोलामा पानीको बहाव कम हुदाँ बिजुली उत्पादन घट्ने गरेको छ, यही बेलामा माग बढी हुन्छ, चिनी उद्योगबाट बिजुली निकाल्न सकिए सुख्खायामको माग धान्न सजिलो हुने भएकोले उद्योगीसँग आग्रह गरिएको हो,’ उनले भने ।

प्राधिकरणका कार्यकारी प्रमुख घिसिङले २ करोड एलइडी बल्ब बिक्री गर्ने बताएका छन् । प्राधिकरणले शुक्रबार आयोजना गरेको विद्युत दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पहिलो चरणमा २ करोड एलइडी बल्ब वितरण गर्ने लक्ष्य रहेको र त्यसमा सफलता मिलेमा पंखा र एसी पनि बिक्री गरिने योजना रहेको घिसिङले बताए ।

‘एउटा एलइडी बल्बको बजार मूल्य ३१० रुपैयाँ छ, नकल्ली सामान पनि बजारमा देखिएको छ, प्राधिकरणले एकमुस्ट किनेर वितरण गर्दा सस्तोमा ओरिजनल बल्ब जनताले पाउँछन्, त्यसैले प्राधिकरणले यस्तो योजना बनाएको हो,’ घिसिङले भने ।

२ करोड एलइडी बल्ल वितरण गर्दा पिक आवरमा १ सय ५० मेगावट विद्युतका साथै बार्षिक २ अर्ब १२ करोड रुपैयाँ बचत हुने प्राधिकरणले जानकारी दिएको छ ।

१ सय ५० मेगावटको जलविद्युत आयोजना बनाउन ३५ अर्ब रुपैयाँभन्दा धरेै खर्च लाग्ने बताइएको छ । यति धेरै रकम खर्चेर आयोजना निर्माण गर्नुभन्दा एलइडी बल्ब बिक्री गर्नु कम खर्चिलो भएको भन्दै प्राधिकरणले यस्तो योजना बनाएको हो । प्राधिकरणका अनुसार २ करोड एलइडी बल्ब किन्न २ अर्ब ३० करोड रुपैयाँ लाग्नेछ ।

इर्नजी इपिसेन्सी कन्सल्टेन्ट राजिव थापाले प्राधिकारणले विद्यृतको उचित व्यवस्थापन गर्न सकेकोले नै लोडसेडिङ अन्त्य भएको बताए ।

‘नेपालमा अहिले उत्पादन हुने भनेको ६ सय ५० मेगावट विद्युत हो, माग १३ सय मेगावाटको छ, अहिलेको व्यवस्थापकले विद्युतको उचित व्यवस्थापन गरेकाले काठमाडौंमा लोडसेडिङ अन्त्य भएको हो,’ थापाले भने ।


क्लिकमान्डु