एघार हजारले स्वास्थ्य बीमा सेवा लिए



पोखरा । कास्कीमा साढे तीन महिनाको अवधिमा ११ हजार ४४९ जनाले स्वास्थ्य बीमा दर्ता गराएका छन् ।

गत पुस १२ गतेदेखि सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति, कास्कीले बीमा दर्ता प्रक्रिया सुरु गरेकामा आजसम्म दुई हजार ४८१ परिवार बीमामा आबद्ध भएका छन् ।

बीमा दर्ता गरेबापत समितिले रुपैयाँ ६५ लाख २१ हजार रुपैयाँ सङ्कलन गरेको छ । बीमा दर्ता भएका एक हजार ५७ जनाले सेवा लिएका र सेवा दिएका अस्पताललाई समितिले नौ लाख ६० हजार रुपैयाँ भुक्तानी गरिसकेको छ ।

गत वर्षको चैत २५ गतेदेखि कैलालीबाट सुरु भएको बीमा कार्यक्रम दोस्रो वर्षमा प्रवेश गर्न लागेको उपलक्ष्यमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा शाखा प्रबन्धक कृष्णप्रसाद भट्टराईले  बीमा  दर्ता गरेका सदस्यले कास्कीका नौ सेवाप्रदायक स्वास्थ्य संस्थाबाट ५३० प्रकारका सूचीकृत औषधि र  २७ वटा विविध उपचार सेवा पाउने बताए।

बिमा दर्ता गराएका सदस्यलाई सेवा दिने स्वास्थ्य संस्थालाई समितिले एक्स–रे, युएसजी, इसिजी र सेमी अटो एनभाइजर मेसिन उपलब्ध गराउने छ । जिल्लाका सेवा प्रदायक स्वास्थ्य संस्थामा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडाबारी, कृस्ती र थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्र छन् ।

जिल्लामा हाल १०७ जना बीमा दर्ता सहयोगी एउटा महानगरपालिका र चार गाउँपालिकामा खटिएका छन् । सो कार्यक्रममा परिवारका सबै सदस्य सहभागी हुनुपर्ने परिवारको योगदानमा आधारित रहेको छ । प्रतिपाँच जनासम्मको परिवारले वार्षिक दुई हजार ५०० रुपैयाँ तथा पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य ४२५ रुपैयाँका दरले थप रकम बुझाउनुपर्ने छ ।

सुविधाको थैलीको सीमा पाँचजना परिवारको हकमा वार्षिक ५० हजार रुपैयाँ रहेको छ भने पाँच जनाभन्दा बढी परिवारका सदस्य भएमा प्रतिथप सदस्यबापत १० हजार रुपैयाँको सीमा बढ्दै जाने र अधिकतम सीमा एक लाख रुपैयाँसम्म कायम गरिएको छ ।

हाल कास्कीलगायत अछाम, बागलुङ, बैतडी, इलाम, म्याग्दी, पाल्पा र कैलालीसहित आठ जिल्लामा उक्त कार्यक्रम सुरु भएको र चालु आवभित्र थप २५ जिल्लामा सेवा विस्तार गर्ने योजना रहेको बताइएको छ ।


क्लिकमान्डु