कुलमान भन्छन्ः अब स्मार्ट बिद्युत सेवा पाउनु हुन्छ




काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले स्मार्ट बिद्युत सेवा प्रवाह गर्ने तयारी भएको जानकारी दिएका छन् ।

प्राधिकरणले शुक्रबार आयोजना गरेको बिद्युत दिबसको अबसरमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।

‘प्राधिकरण अब पुरातन र परम्पराबादी सोचबाट अगाडि बढ्दैन, अबको कार्यशैली स्मार्ट हुन्छ, बिद्युत उत्पादन, बितरण र उपभोगमा स्मार्ट शैली अबलम्बन हुन्छ,’ घिसिङले भने ।

प्राधिकरणले आफ्ना सबै क्रियाकलापको डिजिटलाइजेसन गर्दै लाने उनले सुनाए । घिसिङका अनुसार प्राधिकरणले स्मार्ट मिटर, स्मार्ट ग्रिड र दु्रत सेवा प्रवाह गर्ने प्रक्रिया सुरु भइसकेको उनको भनाइ छ ।

अबको दुई बर्षभित्रमा नेपालमा चाहिने जति विद्युत पर्याप्त उपलब्ध हुने उनको दाबी छ । ‘दुई बर्ष भित्रमा आन्तरिक माग पूरा गर्छौं, त्यसपछि गुणस्तरीय विद्युत उत्पादन प्रक्रिया थालिन्छ,’ उनले भने ।

यस्तै उर्जामन्त्री जनार्दन शर्माले उर्जा सुरक्षा अबको मुख्य कार्यभार रहेको बताए ।

‘पहिलो चरणमा हामीले लोडसेडिङको अन्त्य, चुहावट नियन्त्रण र बिद्युत उत्पादनलाई बढी जोड दियौं, अबको ध्यान उर्जा सुरक्षामा छ, यसले लगानीको प्रवद्र्धन, बजारको सुनिश्चितता र आइपर्ने सबै प्रकारका अबरोधलाई न्यूनिकरण गर्छ,’ मन्त्री शर्माले भने ।

यस्तै अबको १० बर्षभित्रमा थप १५ हजार मेगावाट बिद्युत उत्पादन गर्ने सरकारको लक्ष्यतर्फ अगाडि बढ्न आधार तयार भएको पनि उनको भनाइ छ ।


क्लिकमान्डु