वाइडबडी सम्झौता भोलि, अमेरिकन टोली आज आउँदै



काठमाडौं । नेपाल वायुसेवा निगमसँग जहाज खरिदसम्झौताको लागि अमेकिन लिजिङ कम्पनी एएआर कर्पोरेसनको टोली आज काठमाडौं आउँदै छ । निगम र कर्पोरेसनसंग सम्भवत शुक्रबार एयरबस ३३०-२०० सिरिजको दुई थान वाइडबडी जहाज खरिद सम्झौता हुनेछ ।

निगमको इतिहासमै पहिलो पटक वाइडबडी जहाज खरिद गर्न लागेको हो । विगतमा लाउडा जहाज भाडामा ल्याएर संचालन गरेको भएता पनि वाइडबडी जहाज खरिद गर्न लागेको भने पहिलो पटक हो ।

निगमले जहाज खरिदको लागि बैना रकम १० करोड ७० लाख रुपैयाँ माघ दोस्रो सातानै पठाइसकेको थियो ।

‘कर्पोरेसनको टोली खरिद सम्झौताको लागि नेपाल आउँदै छ, सम्भवत खरिद सम्झौता हुने छ,’ निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले भने ।

अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेसनले ‘हाईफ्लाई एयरलाइन्स’को लागि ३ वर्षअघि एयरबस कम्पनीमा अर्डर गरेको थियो । कम्पनीले टेन्डर हाल्दा सवैभन्दा बढी सस्तोमा हालेकोले अव मूल्यमा नेगोसेनस नहुने समेत कंसारकारले प्रष्ट पारेका छन् ।

अहिले आएको टोलीसंग खरिद सम्झौता मात्र हुने र पाइलट इन्जिनियर लगायत विषयमा पछिल्ला वार्ताहरुमा छलफल हुने कंसाकारले जानकारी दिए ।

निगमलाई २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्व ६३ करोड रुपैयाँमा दुईवटा जहाज दिने प्रस्ताव कर्पोरेशनले पेश गरेको थियो ।

पहिलो जहाज ०७४ मंसिरमा र दोस्रो जहाज ०७४ को चैत भित्रै ल्याइसक्ने योजना निगमकोे छ । निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डन जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाइरहेको छ । जसमा निगमले उडान गन्तव्यहरु तय गर्नको लागि कार्यसमेत सुरु गरिसकेको छ ।


पुष्प दुलाल