शेखर गोल्छा प्यानललाई भोट माग्दै भवानी राणाले भनिन्–‘यो टिम मलाई चाहिन्छ’



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आगामी सातादेखि अध्यक्ष बन्न लागेकी भवानी राणाले बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा प्यानलको पक्षमा खुलेर मत मागेकी छन् ।

महासंघका बरिष्ठका उपाध्यक्षका उम्मेद्वार शेखर गोल्छा सहित उनको प्यानलको उम्मेद्वारी घोषणामा भवानी राणाले गोल्छाको टिम निर्वाचित भएमा आफुलाई काम गर्न सजिलो हुने भन्दै व्यवसायीलाई गोल्छा प्यानललाई मत दिन आग्रह गरिन् ।

‘ महासंघलाई चलाउनको लागि यो टिम मलाई चाहिन्छ’,राणाले गोल्छाको उम्मेद्वारी घोषणा कार्यक्रममा भनिन्,‘ काम गर्नुपर्ने भएको हुँदा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार गोल्छा सहितको टिम मलाई चाहिन्छ। ’

 

बुटवल गएर आफ्नो उम्मेद्वारी घोषणा गरेपनि शेखर गोल्छा समुहले उम्मेद्वारी दर्ता गरेपछि काठमाडौंबाट प्यानलको घोषणा गरेको हो । गोल्छाको प्यानलबाट एशोसियटमा उपाध्यक्ष बनेका चन्द्र ढकाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

गोल्छाको समुहबाट जिल्ला तथा नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ तथा वस्तुगतको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ रहेका छन् । कोषाध्यक्षको उम्मेद्वार ज्ञानेन्द्रलाल प्रधान रहेका छन् । गोल्छाको प्यानललाई ४० जिल्ला तथा नगर उद्योग वाणिज्य संघको समर्थन रहेको दाबी प्यानले गरेको छ ।

शेखर गोल्छाको प्यानल घोषणा कार्यक्रममा राणा बाहेक अहिलेका अध्यक्ष पशुपती मुरारका सहित पूर्व अध्यक्षहरु चण्डी ढकाल,रविभक्त श्रेष्ठ र प्रदिपकुमार श्रेष्ठ उपस्थित छन् ।
पदाधिकारी प्यानल फाइनल भएपनि कार्यकारिणीको प्यानल भने टुंगो लागेको छैन । महासंघको संसोधित विधानमा यो पटक अध्यक्षको निर्वाचन हुने छैन । बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने भएको हुँदा बरिष्ठ उपाध्यक्ष पदमा यो पटक प्रतिस्पर्धा रोचक छ ।

बरिष्ठ उपाध्यक्ष पदमा अहिलेका जिल्ला नगरका उपाध्यक्ष किशोर प्रधानले उम्मेद्वारी दिएका छन् । प्रधानले उम्मेद्वारी दर्ता अगाडि काठमाडौंबाट आफ्नो प्यानल घोषणा गरेका छन् । प्रधानको प्यानलमा जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा शंकर पाण्डे रहेका छन् ।


क्लिकमान्डु