दुई दिनको आँधी तुफान पछि स्वभाबिक गतिमा फर्कियो नेप्से




काठमाडौं । आइतबार र सोमबारको आँधी तुफान पछि मंगलबार नेप्से स्वभाविक गतिमा फर्किएको छ । मंगलबार अघिल्ला दुई दिन जस्तो उतारचढाव भएन । र, नेप्से ३.५ अंकले घटेर १६५७.०२ अंकमा बन्द भयो ।

मंगलबार लगानीकर्ताहरु हौसने र आत्तिने कम भएका कारण कारोबार रकम पनि घटेको छ । सोमबार २ अर्ब ५० करोड रुपैंयाँको कारोबार भएकोमा मंगलबार १ अर्ब ६३ करोडको मात्र कारोबार भएको छ ।
हरेक आँधी पछि स्थीरता आए झैं अबका केही दिन नेप्सेमा खासै उतारचढाव आउने देखिँदैंन । अबका केही दिन लगानीकर्ताले ठण्डा दिमागले बजार र कम्पनीहरुको बिश्लेषण गरेर भावी रणनीति बनाउनु नै उत्तम हुन्छ ।

मंगलबार १४४ कम्पनीको २७ लाख १७ हजार ८ सय ३ कित्ता सेयर कोरोबार भएको छ । निकै सन्तुलित देखिएको बजारमा बैंकिङ ४.२३, बिकास बैंक ३.७२, जलबिद्युत ३३.०६ र अन्य ६.०७ अंकले घटेका छन् भने होटेल ७४.९५, बित्त २.३८ र बीमा ११.२३ अंकले बढेका छन् ।

सोमबार झै मंगलबार पनि नेपाल बैंकको सबैभन्दा बढि १२ करोड ८५ लाख रुपैंयाँको कारोबार भएको छ । बैंकले २३.७५ प्रतिशत हकप्रदका लागि बुकक्लोज मिति घोषणा गरिसकेको छ । दोस्रोमा एनसिसी बैंक छ । एनसीसीको ६ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी गुँरास लाइफको ६ करोड ६० लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको ५ करोड ८४ लाख र प्रभु बैंकको ५ करोड ३३ लाख रुपैंयाँको कारोबार भएको छ ।

मंगलबार कुनै पनि कम्पनीको सेयर मुल्य १० प्रतिशतले बढेन । दुई कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढिले कमाए । सबैभन्दा बढि गुर्खाज फाइनान्सका लगानीकर्ताले ९.४५ प्रतिशतले कमाएका छन् । राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले पनि ९.०१ प्रतिशतले कमाएका छन् ।

मंगलबार सबैभन्दा बढि युनाइटेड फाइनान्सका लगानीकर्ताले ७.८४ प्रतिशतले गुमाएका छन् । यसैगरी जनउत्थान सामुदायिक लघुबित्त, नयाँ नेपाल लघुबित्त र रिलाएबल माइक्रोफाइनान्सका लगानीकर्ताले पनि ७ प्रतिशत भन्दा बढिले गुमाएका छन् ।


क्लिकमान्डु