कुलमानको अबको योजनाः आगामी बर्षामा बिजुली निर्यात गर्ने




काठमाडौं । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी बर्षामा नेपालले बिजुली निर्यात गर्ने महत्वकांक्षी योजना सार्बजनिक गरेका छन् ।

यो बर्षको सुख्यायाम सकिएकोले अब लोडसेडिङ नहुने भन्दै उनले आगामी बर्षायाममा बिजुली निर्यात गर्न सकिने अवस्थामा पुग्ने जानकारी दिएका हुन् ।

‘बिजुलीको अत्याधिक माग हुने र उत्पादन कम हुने समय हामीले पार गरिसकेका छौं, अब लोडसेडिङ हुदैन, अर्काे बर्षामा हामीसँग भएको बिजुली निर्यात गर्न सक्ने अबस्थामा हामी पुग्छौं,’ प्राधिकरणमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने ।

माथिल्लो तामाकोशी आयोजना निर्माण सम्पन्न हुन लागेकोले नेपाललाई चाहिने भन्दा बढी विद्युत उत्पादन हुने भन्दै उनले निर्यातको योजना सुनाएका हुन् । यस्तै अन्य आयोजनाबाट पनि बिजुली उत्पादन हुँदा निर्यात गर्न सक्ने अवस्था आउने घिसिङको भनाइ छ ।

भारतबाट महंगो दरमा विद्युत आयात गरिएको भन्ने आरोपको पनि उनले खण्डन गरे । गत बर्ष १४ अर्ब रुपैयाँ बराबरको विद्युत आयात भएकोमा यस बर्ष जम्मा १५ अर्ब रुपैयाँको मात्रै आयात गरिएको र परिमाण भने गत बर्षको भन्दा निकै बढी भएको उनको भनाइ छ ।

गत बर्षको भन्दा यसबर्ष भारतबाट आयातित बिद्युतको अंश घटेको उनले जानकारी दिए ।

‘गत बर्ष कुल विद्युत आपूर्तिको ३५ प्रतिशत हिस्सा भारतबाट आयातित बिद्युतको थियो, यस बर्ष यस्तो हिस्सा जम्मा ३३ प्रतिशत मात्रै छ,’ घिसिङले भने ।

प्राधिकरणले आगामी शुक्रबार मनाउन लागेको विद्युत दिबसको बारेमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।


क्लिकमान्डु