झोलुङ्गे पुल निर्माण कार्य सुरु



कञ्चनपुर । कञ्चनपुरको सनबोरा नदीमा शुक्लाफाँटा नगरपालिकाको वडा नं २ र ३ जोड्नका लागि ७४ लाख रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माणको कार्य सुरु गरिएको छ ।

एक सय एक मिटर लम्बाइ भएको पुल जिल्ला समन्वय समिति, नगरपालिका, स्थानीय समुदाय र स्वापलगायतको सहयोगमा निर्माण हुन लागेको हो ।

पुल चालु आवभित्रै सम्पन्न गर्ने गरी कार्य अगाडि बढाइएको पुल निर्माण समितिका कोषाध्यक्ष वसन्तीदेवी चौधरीले बताए । पुल निर्माणका लागि सामाजिक तथा प्राविधिक सहयोग गैरसरकारी संस्था केदार ग्रामीण विकास समाज नेपालले जिम्मा लिएको छ ।

पुल निर्माण भएपछि यस क्षेत्रका ६८८ घरधुरीका चार हजार ८१८ परिवार लाभान्वित हुने भएका छन् । पुलको प्रतिमिटर लागत अनुमान ७३ हजार २५५ रुपैयाँ रहेको छ ।

यस क्षेत्रमा पुल नहुँदा बाढी आएको नदीमा जोखिम मोल्दै स्थानीय बासिन्दाले वर्षात्का बेला तर्दै आएका थिए । पुल निर्माणको कार्य अगाडि बढेपछि निकै सहजता हुने भएको स्थानीय हर्कबहादुर बमले बताउनुभयो ।

 


क्लिकमान्डु