अलैँचीको व्यावसायिक खेतीतर्फ किसान आकर्षित, बिरुवाको माग पनि बढ्दो



तेह्रथुम । जिल्लाका धेरै किसान अन्न फल्ने खेतबारी मासेर अलैँची खेतीमा लागेका छन् । छोटो समयमा राम्रो आम्दानी पाउने भएपछि किसान अलैँचीको व्यावसायिक खेतीमा लागेका हुन् ।

जनशक्ति अभावमा ग्रामीण क्षेत्रका बाँझो भएका र जङ्गल बनेका जमिनमा समेत किसानले अलैँची रोपेका छन् । केही वर्षयता अलैँचीले बजारमा राम्रो मूल्य पाउन थालेकाले पनि किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।

किसानले यसअघि खेती गर्दै आएको धान, मकै, आलु, जौ, गहुँ, फापर, तोरीलगायतका बाली छाडेर चिस्यान, सेपीलो, खोल्साखोल्सी आसपासको जमिन र सिँचाइको सम्भावित ठाउँमा समेत अलैँची खेती विस्तार गरेका छन् । बिरुवाको माग धेरै आउन थालेपछि कृषि विकास कार्यालयलाई बिरुवा पुर्याउन मुस्किल भएको छ । अलैँची खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढ्दै जाँदा बिरुवाको माग पनि अत्यधिक आउने गरेको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताए ।

मागको तुलनामा ५० प्रतिशत पनि बिरुवा पुर्याउन नसकिएको कार्यालयले जनाएको छ । आफूसँग जमिन नभएका र भएको जमिन पनि अलैँची खेतीका लागि उपयुक्त नभएकाले समेत सामुदायिक वन र अन्य व्यक्तिको जमिन भाडामा लिएर खेती थालेका हुन् । केही सामुदायिक वन समूहका सबै उपभोक्ताले बराबरी भाग पाउने गरी खेती गरेका छन् । यसबाट वनको पनि सुधार भएको र उपभोक्ताको आम्दानी पनि बढेको सहायक जिल्ला वन अधिकृत धर्मी यादवले बताए ।

कार्यालयले ५० प्रतिशत अनुदानमा बिरुवा दिने गरेको छ । सबै किसानलाई मागे जति दिन नसके पनि माग गर्ने सबै किसानलाई बिरुवा वितरण गरिरहेको कार्यालयले जनाएको छ ।

किसानलाई बिरुवा वितरण गर्न कार्यालयले खाम्लालुङ, लालीगुराँस नगरपालिकाको वसन्तपुर, फुलेकलगायतका स्थानमा उत्पादन कार्यक्रम नै सञ्चालन गरेको छ । यी स्थानमा कृषि प्राविधिकको प्रत्यक्ष निगरानीमा दानाबाट अलैँची बिरुवा उत्पादन भइरहेको कार्यालयका प्राविधिक सहायक हरिगोपाल आचार्यले बताए ।

कार्यालयले किसानलाई सहुलियतमा बीउ, बिरुवा वितरण, नर्सरी तथा बगान व्यवस्थापन, प्राविधिक सहयोग, तालिम लगायतका सेवा प्रत्यक्ष प्रदान गर्दै आइरहेको छ । अलैँची खेतीका लागि लगानी र श्रम धेरै नचाहिने, अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका धेरै किसानले अन्नबाली लगाउन छोडेर अलैँची खेती गर्न थालेको अलैँची व्यवसायी सङ्घका जिल्ला सचिव तुलसी ढकालले जानकारी दिए ।

इवाका किसान नरेन्द्रकुमार बाँनियाँले दशकअघि अन्न फल्ने १० रोपनी खेतबारीमा रोपेको अलैँची बिक्रीबाट वर्षमा रु सात लाखसम्म आम्दानी गरिरहेको बताए । यो खेतीबाट फाइदा हुन थालेपछि उनले ३० रोपनी बढीमा खेती गर्दै आएका छन् । परम्परागत खेती प्रणालीबाट गुजारा नचलेपछि जिल्लाका धेरै किसान अलैँचीको व्यावसायिक खेतीतर्फ लागेका कार्यालयले जनाएको छ ।

कृषि मन्त्रालयको एक तथ्याङ्कअनुसार नेपालमा १४ हजार दुई सय ६ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुने गरेको छ । त्यसमा नेपालको कुल अलैँची उत्पादन र निर्यातको ९५ प्रतिशत हिस्सा पूर्वाञ्चल क्षेत्रले ओगटेको छ ।

आव ०६८/६९ मा अलैँची निर्यातबाट अहिलेसम्मकै बढी तीन अर्ब ४९ करोड रुपैयाँ विदेशी मुद्रा किसानले प्राप्त गरेको मन्त्रालयको तथ्याङ्कमा छ । व्यापारीका अनुसार उत्पादित अलैँची भारतको सिलगुडी, अमृतसर र दिल्ली हुँदै तेस्रो मुलुक निर्यात हुने गरेको छ । मसलाको परिकार, बिस्कुट, बेकरी, सुगन्धित तेल, रक्सी आदिको उत्पादनमा प्रयोग हुने अलैँचीको माग तेस्रो मुलुकमा बढ्दो छ ।