७ हजार ८ सय ९० मेट्रिक टन आलु उत्पादन



पाल्पा । पाल्पामा यस आर्थिक वर्षमा १७ करोड रुपैयाँ बराबरको आलु उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सात सय ३५ हेक्टर क्षेत्रफलमा उत्पादित सात हजार आठ सय ९० मेट्रिक टन आलु सो मूल्य बराबरको भएको जनाइएको हो ।

आलु खेतीका लागि अनुकूल समय र सङ्क्रमणले यस वर्ष कम सताएपछि अघिल्लो वर्षको तुलनामा उत्पादन बढेको हो । गत वर्ष रु दश करोड बराबरको आलु उत्पादन भएको थियो ।

आव  २०७१/७२ मा सात सय ३० हेक्टर क्षेत्रफलमा सात हजार पाँच सय १८ मेट्रिक टन आलु उत्पादन भएको थियो भने आव ०७२/७३ मा सोही क्षेत्रफलमा सात हजार पाँच सय २३ मेट्रिक टन आलु उत्पादन भएको कार्यालयका  प्राबिधिक ज्ञानकुमार यादवले बताए ।

वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठ भन्छन्, ‘हिजोआज किसानले आलु लगाउने समयमा प्राविधिकसँग सल्लाह गरेर मात्र लगाउने र सङ्क्रमण नियन्त्रणका लागि समय समयमा प्राविधिकलाई देखाइरहने गरेकाले  क्षति हुनबाट सुरक्षित भएका हुन् ।’

कार्यालयको सिफारिसमा किसानले यस वर्ष टिपियस, कार्डिनल, कुप्रिज्योति, स्थानीय जातका आलु लगाएका छन् । जिल्लाको रामपुर, अर्गली, माडीफाँट, सर्देवा, हुँगीलगायत क्षेत्र आलु उत्पादनका लागि मुख्य पकेट क्षेत्र मानिन्छन् । कार्यालयका अनुसार यहाँ उत्पादित रातो आलु प्रतिकेजी २५ रुपैयाँ र सेतो आलु प्रतिकेजी २० रुपैयाँमा बिक्री भइरहेको छ ।

 


क्लिकमान्डु