गाविसको रकम रुपान्तरणमा ढिलाइ



रसुवा। गाउँपालिका घोषणा भएको तीन हप्ता बितिसक्दा पनि साबिक गाविसको रकम अझै रुपान्तरण नभएको र कार्य सञ्चालन खर्चसमेत माग भएको छैन ।

प्रमुख कोष नियन्त्रक सूर्य भण्डारीका अनुसार रसुवामा स्थापित पाँचवटा गाउँपालिकाका लागि सरकारले तोकेको बजेट अर्थ मन्त्रालयबाट कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिकामा) मा आइसकेपनि कार्य सञ्चालनको निकासा लिन अझै मागपत्र प्राप्त भएको छैन ।

सरकारले गाउँपालिकाको कार्यकारी अधिकृत खटाइसकेको र कोलेनिकाले लेखापालको व्यवस्था मिलाई सक्दा पनि समयमै निकासा नमाग्दा जिल्लाको समग्र विकासमा समेत असर पुग्ने सम्भावना बढेको बताइएको छ ।

गत फागुन २६ गतेसम्म गाविसले खर्च गरी बाँकी रकम गाउँपालिकालाई रुपान्तरण गर्न जिविसमार्फत अझै विवरण प्राप्त नभएको बताउँदै रितपूर्वक माग भएका रकम छिटो छरितो निकासा दिन कार्यालय तयार रहेको कोलेनिकाले जनाएको छ ।

 


क्लिकमान्डु