भक्तपूरमा साझाका बस गुड्ने नगुड्ने चैत २८ मा टुंगो लाग्ने



काठमाडौं । साझा यातायातको भक्तपुरमा बस सेवा विस्तार गर्ने योजना रुट इजाजत नपाउँदा अन्योलमा परेको छ ।

भक्तपुरमा यात्रु बस सेवा संचालनका लागि यातायात व्यवस्था विभागको साना ठूला सवारी कार्यालय वागमतीमा आवेदन दिएको महिना दिन वित्न लागेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले जानकारी दिए ।

‘भक्तपुरमा बस संचानका लागि २० वटा बस तयारी अवस्थामा छन्, यातायात विभागबाट रुट इजाजत पाएको भोलिपल्टदेखि बस गुडाउने तयारी अवस्थामा छौं, रुट परमिट नपाउँदा ढिलाइ भएको हो,’ प्रमुख कार्यकारी अधिकृत पाण्डेले क्लिमाडूसँग भने ।
कहाँ कहाँबाट जान्छन् भक्तपूर ?

स्वयम्भु–सीतापाइला–कलंकी–रवीभवन–सोल्टीमोड–कालीमाटी–टेकु–त्रिपुरेश्वर– सहीदगेट–सिंहदरबार–माइतिघर–बबरमहल–नयाँबानेश्वर–मिनभवनहुँदै कोटेश्वरबाट भक्तपुर चल्ने छन् ।

१० वटा बसहरु जडिबुटीबाट सानोठिमी–पुरानोठिमी–भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किनेछन् । अन्य १० वटा बस जडिबुटीबाट नयाँबाटो सल्लाघारी, सूर्यविनायक–कमलविनायक हँँदै पुरानो बाटो भएर फर्किनेछ ।

भक्तपुर रुटमा चल्ने बस नन–स्टप चल्नेछन्, बस यात्रु कुर्नका लागि बसपार्कमा रोकिने छैन ।

साझा भक्तपुरमा किन जान सकेन ?

साझा यातायातले भक्तपुरमा सेवा विस्तार गर्ने योजनामा बनाउँदै गर्दा भक्तपुरका बस व्यवसाहीहरु त्रसित देखिएका छन् । साझाका बस भक्तपुर प्रवेश गरेमा आफूहरुको सिन्डिकेट तोडिने डर भक्तपूरका बस ब्यवसायीको छ ।

केही समय अघि भक्तपुरका यातायात व्यवसायीले साझाका भक्तपूर प्रवेश गरेमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सर्वाेच्च अदालतले यातायातमा रहेको सिन्डिकेट अन्त्य गर्न निर्देशन जारी गरेको अवस्थामा पनि साझा यातायातलाई भक्तपूर प्रवेश कठिन भएको छ । उनीहरुले अवैज्ञानिक रुपमा भक्तपुरमा साझाले बस हाल्न लागेको भन्दै यातायात विभागमा ज्ञापनपत्र दर्ता गराएका छन् ।

के भन्छ यातायात विभाग ?

यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालय बाग्मतीका प्रमुख बसन्त अधिकारीले साझालाई भक्तपुरको रुटमा इजाजत दिन विभाग सकारात्मक रहेको बताए । तर सवै पक्षसँग समन्वय नगरी साझालाई परमिट दिदा अर्काे झमेला आइलाग्ने भन्दै विभागले भक्तपूरका यातायात ब्यवसायीसँग समन्वय गरेर मात्रै परमिट दिइने जानकारी दिए ।

‘भक्तपुरमा अहिले त्यतिकै साझालाई रुट दिई हाल्ने अवस्था छैन, यातायात व्यवसायीले साझालाई भक्तपुर प्रवेशमा रोक लगाउने भनिरहेका छन्, यस्तो अवस्थामा साझालाई रुट परमिट दिँदा समस्या उत्पन्न हुनसक्छ,’ अधिकारीले भने ।

साझाले रुट इजाजत पाएर बस संचालनमा आउँदा कुनै समस्या सिर्जना नहोस् भन्ने उद्देश्यले भक्तपुरका स्थानीय, पुलिस प्रशासन, यातायात व्यवसायीसँग संयोजनमा विभाग लागेका अधिकारीले बताए ।

‘संयोजनका लागि १० दिनको समय दिएका छौं, अब २८ गते बस्ने बैठकले भक्तपुरको रुट इजाजत साझालाई कहिले दिनेभन्ने निर्णय गर्नेछ,’ उनले भने ।


क्लिकमान्डु