नेपालमा मानब तस्करीको जालोः पूर्वपरराष्ट्र मन्त्रीहरु र अध्यागमन प्रमुख छानविनको दायरामा




काठमाडौं । ब्यवस्थापिका संसद, अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पूर्वपरराष्ट्र मन्त्री र त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल अध्यागमन कार्यालयका पूर्व तथा बहालवाला प्रमुख माथि छानविन गरी कारबाही गर्न निर्देशन दिएको छ ।

नेपालबाट ठूलो संख्यामा मानव तस्करी गरी खाडी मुलुकहरुमा घरेलु कामदारको रुपमा महिला पठाएको भेटिएपछि यस्तो निर्देशन दिइएको हो ।

खाडी मुलुकमा बेरोकटोक नेपाली महिनाहरुको तस्करी भइरहेको बिषयमा त्यहाँ रहेका नेपाली राजदुतावासहरुले परराष्ट्र मन्त्रालयमा पटक पटक जानकारी गराउँदा पनि उक्त जघन्य अपराध रोक्न कुनै पहल नगरेको भन्दै समितिले परराष्ट्रमन्त्री माथि कारबाहीको निर्देशन दिएको हो ।

‘महिला तस्करीमा संलग्न नेपाली र विदेशी एजेन्टहरुलाई कारवाही गर्न कुनै चासो नदेखाएको, साथै खाडी मुलुकमा रहेका नेपाली नियोगहरुले बैदेशिक रोजगारीमा घरेलु कामदार पठाउने निर्देशिका २०७२ कार्यान्वयन गर्न नसकिने जानकारी गराउँदा गराउँदै पनि संगठित मानव तस्करीलाई कानुनी जामा (कभर) प्रदान गर्न ती नियोगहरुले दिएका सुझावहरु पुरै बेवास्ता गरी दलाल र बिचौलियाहरुको आर्थिक प्रभावमा परी उक्त निर्देशिका जवरजस्ती कार्यान्वयन गर्न खाडी मुलुकका नेपाली नियोगहरुलाई बारम्बार दबाब दिएकोले नेपाल सरकारका परराष्ट्र मन्त्री लगायत निर्णय प्रक्रियामा संलग्न पदाधिकारीहरुलाई छानबिन गरी कडा कारबाही गर्न नेपाल सरकार, मन्त्रिपरिषद र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निर्देशन दिने,’ समितिको आइतबारको बैठकले गरेको निर्णयमा भनिएको छ ।

मानब तस्करीमा संलग्न नेपाल बाहिर रहेका नेपालीहरुको पहिचान गरी उनीहरुलाई सम्बन्धित देशबाट निकाला (डिपोट) गराई नेपाल ल्याएर कानुन बमोमिज कारवाही गर्न पनि समितिले भनेको छ । यस्तो कार्यमा संलग्न विदेशी नागरिकलाई सम्बन्धित देशको कानुन अनुसार कारबाही गराउन ठोस कुटनीतिक पहल गर्न पनि निर्देशन दिइएको छ ।

नेपाल सरकारले खाडी मुलुकमा नेपाल महिला कामदार पठाउन प्रतिबन्ध लगाएको मितिदेखि हालसम्म त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल अध्यागमन कार्यालय प्रमुख रहेका ब्यक्तिहरु हाल जुनसुकै जिम्मेवारीमा रहेका भए पनि निलम्बन गरी निजहरुको पालामा भएका अबैध कार्यहरुको छानविन गरी कानुनी कारवाही गर्न पनि निर्देशन दिइएको छ ।

बैदेशिक रोजगारीमा देखिएका समस्याहरुको निरन्तर पहिचान र समाधान गर्न नेपाल सरकारका परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय र श्रम तथा रोजगार मन्त्रालय सहितको संयुक्त स्थायी संयन्त्र तुरुन्त गठन गरी कार्य प्रारम्भ गर्न समितिले सरकारलाई निर्देशन दिएको छ ।

खाडी मुलुकमा अलपत्र अवस्थामा रहेका र समस्यामा परेका नेपाली कामदारहरुलाई तुरुन्त स्वदेश फर्काउन उच्चस्तरबाट पहल गर्न पनि समितिको निर्देशन छ ।

सम्बन्धित मुलुकले घरेलु कामदार सम्बन्धि ठोस कानुन नबनाउँदासम्म र नेपालसँग द्धीपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडी मुलुकमा नेपाली घरेलु कामदार पठाउने कार्य पूर्णतः बन्द गर्न समितिले निर्देशन दिएको छ ।

समिति सभापति प्रभु साह सहितको सांसदहरुको टोलीले संयुक्त अरब इमिरेट्स, कुबेत र कतार देशमा स्थलगत भ्रमण गरी नेपाली कामदारको यथार्थ अवस्थाबारे अध्ययन गरेको थियो ।

त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थबाटै ठूलो संख्यामा महिला तस्करी भएको तथ्य भेटिएपछि समितिले यस्तो निर्देशन दिएको समितिका सदस्य प्रेम किशोर प्रसाद साहले जानकारी दिए ।


क्लिकमान्डु