तिब्बतको सिमाना जोड्ने सडकको नयाँ ट्र्याक नेपाली सेनाले बनाउँदै



गोरखा। नेपाली सेनाले बेनिघाट–आरुघाट हुँदै तिब्बतको सिमाना लार्केभञ्याङ जोड्ने सडकको नयाँ ट्र्याक खोल्ने काम सुरु गरेको छ । थुमी गाउँको अर्मलामा शिविर स्थापना गरी सेनाले सडक निर्माणको काम गरेको हो । पचहत्तर जना सेनाको टोली सडक निर्माणमा खटिएको छ ।

सेनाका इन्जिनियर निशान्त पण्डितका अनुसार हावाडाँडादेखि लापु भिरसम्म  रहेको चट्टान फुटाउन बम ब्लास्टका लागि प्वाल बनाउने काम भइरहेको छ । सेनाले हावाडाँडादेखि उहियाको तातोपानीसम्म १६ किलोमिटर सडक निर्माणका लागि  अध्ययनसमेत गरिसकेको जनाएको छ ।

धादिङको बेनीघाटदेखि लार्केभञ्याङसम्मको सडक करिब एक सय ८३ किमी दूरीमध्ये सेनाले आरुघाट–लार्केभञ्याङ खण्ड करिब एक सय २१ किमी सडकको नयाँ ट्र्याक खोल्ने काम गर्दैछन् । बेनीघाट–हावाडाँडा खण्ड ६२ किमी सडक सडक विभागले निर्माण गरेको थियो ।

हावाडाँडादेखि लापुभिर हुँदै नयाँ ट्र्याक खोल्न रु दुई करोड ५० लाख रुपैँयाँ बजेट निकासा भएको छ । माछाखोलामा अर्को शिविर राखेर केही दिनपछि उक्त खण्डमा नयाँ ट्र्याक खोल्ने काम पनि सुरु गर्ने इन्जिनियर पण्डितले बताए ।

सडक निर्माण हुने स्थल मनास्लु पदमार्ग रहेकाले पदमार्गको विकल्पमा अर्को बाटो खोल्ने तयारी पनि भइरहेको जनाइएको छ ।

 


क्लिकमान्डु