कानुनी दफा होइन जनतालाई हेरेर काम गर्नुहोस् : पुनर्निमाण सिइओ पोखरेल




काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा  गोविन्दराज पोखरेलले कानुनी दफालाई भन्दा पनि जनताको व्यवहारिक समस्यालाई सर्वोपरी ठानेर काम गर्न मातहतका कर्मचारी र सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।

प्राधिकरणको दोस्रो चौमासिक समिक्षा बैठकलाई सम्वोधन गर्दै पोखरेलले सरकारी संयन्त्रमा प्रक्रियागत झन्झ्टलाई देखाएर जनताको समस्या र अफ्ठेरोलाई कम महत्व दिने प्रवृति हावी रहेको उल्लेख गरे । ‘कुन काम नगर्ने भनेर कानुनले स्पष्ट भनेकै हुन्छ तर सरकारी संयन्त्रमा कानुनले किटान नगरेको कुरालाई पनि गर्नुहुदैन भनेर बुझ्ने प्रवृति छ,’ पोखरेलले भने ।

बैठकमा प्राधिकरणको दोस्रो चौमासिक प्रगतीका बिषयमा विभिन्न मन्त्रालयका योजना महाशाखा प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका महाशाखा प्रमुख र जिल्ला समन्वय समितिको सचिवालयलका प्रमुखहरुले भूकम्प प्रभावित जिल्लाको पुनर्निर्माणमा भइरहेको प्रयास, उपलव्धी, चुनौती र त्यसको समाधानवारे जानकारी गराएका थिए ।

भौतिक पुर्वाधार तथा यातायात, स्वास्थ्य, सिचाइ, बन, रक्षा, शिक्षा, स्थानिय बिकास लगायत मन्त्रालयका प्रतिनिधीले आ–आफ्नो मन्त्रालयकातर्फबाट पुनर्निर्माणमा भइरहेको प्रगतीवारे बैठकमा जानकारी गराएका थिए । बैठकमा प्राधिकरणका प्रवक्ता यमलाल भुसालले दोस्रो चौमासिक अवधीमा कार्यक्रम कार्यान्वयनको अवस्था तथा अन्य निकायले सम्पादन गरेका कार्यहरुको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।

बैठकमा प्राधिकरण अन्र्तगतको जिल्ला समन्वय समितिको सचिवालयकातर्फबाट भूकम्प अतिप्रभावित १४ जिल्लाका प्रतिनिधीले जिल्लामा भइरहेको पुर्ननिर्माणका क्रममा देखिएका समस्यालाई सम्वोधन गर्न प्राधिकरण नेतृत्वको ध्यानाकर्षण गराए । सो क्रममा उनीहरुले जिल्लामा थुप्रै परिवार लाभग्राहीको सूचिमा नपरेको भन्दै उनीहरुको गुनासो सुनुवाई गर्न आग्रह गरे ।यस्तै कार्यक्षेत्रमा प्राविधिक जनशक्तिको अभाव, आवश्यक प्राविधिक तालिमको अभाव, निर्माण सामाग्रीको अभाव, सहुलियत दरको कर्जा प्रभावकारी नहुनु लगायतका समस्याले पुनर्निर्माणमा चुनौती थपेको गुनासो गरे ।

कर्मचारीले गाँउपालिकाको गठनले गर्दा स्थानिय तहमा निजी आवास निर्माणका लागी दोस्रो अनुदानको किस्ता बितरणमा कठिनाई भएको बताएका थिए । बैठकमा उठेका जिज्ञासा र गुनासोवारे जवाफ दिदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलले भूकम्प पिडितलाई जतिसक्दो छिटो राहत हुने गरि काम गर्न आग्रह गर्दै पुनर्निर्माण र पुर्नस्थापनामा देखिएका नीतिगत समस्यालाई सम्वोधन गर्ने प्रयास भइरहेको बताए ।

उनले प्रक्रियामूखी भन्दा पनि परिणाममुखी हुने गरि काम गर्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा। अरविन्द कुमार मिश्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कार्यकारी समिति सदस्यहरु, विभिन्न मन्त्रालयका प्रतिनिधी, पुरातत्व विभाग, केन्द्रीय तथ्याङ्क विभाग लगायत निकायका प्रतिनिधी सहभागी थिए ।


क्लिकमान्डु