गुम्दा– माछाखोला–तिब्बत सडकको विवाद मिल्यो



गोरखा । कुन गाउँ हुँदै सडक खन्ने भन्ने विवादले विगत एक महिनादेखि रोकिएको बारपाक–लाप्राक– गुम्दा–माछाखोला–तिब्बत सडक अन्तर्गत गुम्दा हुँदै माछाखोला खण्डमा नयाँ ट्र्याक खन्ने काम छिट्टै सुरु हुने भएको छ ।

धार्चे गाउँपालिका– ५ स्थित यमगाउँ र लप्सीबोटमध्ये कुन गाउँबाट सडक निर्माण गर्ने भन्ने विवाद हुँदा सडक निर्माण अघि बढेको थिएन । जुन गाउँबाट सडक खनेपनि लप्सीबोटवासीकै खेतीयोग्य जमिन कटान हुने भएपछि सडकको ट्र्याक परिवर्तन गरी लप्सीबोट गाउँ हुँदै खन्न लप्सीबोटवासीले आग्रह गरेका थिए ।

प्राविधिक अध्ययनले लप्सीबोट तर्फबाट सडक खन्दा पहिरोको जोखिम र धेरै घुम्तीपर्ने देखिएपछि यम गाउँमुनि हुँदै सडक खन्ने प्रक्रिया अघि बढेको थियो । चण्डिकाङ डाँडाबाट दुई किलोमिटर नयाँ ट्र्याक खनेपछि पहिरोको जोखिममा यमगाउँ पर्ने भन्दै यम गाउँवासीले सडक खन्न रोक लगाएका थिए ।

गोरखा–बारपाक–लाप्राक–गुम्दा हुँदै माछाखोला झर्ने र बेनिघाट– आरुघाट– सोती–लापुगाउँ हुँदै माछाखोला पुग्ने रिङरोड सडक निर्माणलाई तीव्रता दिने योजनासाथ बर्सेनि बजेट परेपनि यो वा त्यो बाहनामा गुम्दा–माछाखोला सडकमा नयाँ ट्र्याक खन्न सकिएको छैन ।

सोतीदेखि माछाखोला जोड्ने नयाँ ट्र्याक खन्ने काम भने नेपाली सेनाले अघि बढाएको छ ।

सांसद छमबहादुर गुरुङ, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी उपरीक्षक जनकराज पाण्डे, प्रहरी नायब उपरीक्षकद्वय राजेन्द्र श्रेष्ठ, जीतबहादुर घले, जिल्लास्थित एघार किलो सडक आयोजना कार्यालयका प्राविधिक, निर्माण व्यवसायी, यमगाउँ र लप्सीबोटवासीका स्थानीयवासीबीच शुक्रबार लप्सीबोटमा आयोजित छलफलमा पहिरोको जोखिम नरहने गरी यमगाउँबाटै सडक निर्माण गर्ने सहमति जुटेको हो ।

‘यमगाउँमुनि सडक खन्दा पहिरोको थप जोखिममा गाउँ पर्ने यमगाउँबासीलाई डर रहेछ । अहिले खनिएको सडकको अन्तिम बिन्दुबाट १५० मिटर नयाँ ट्रयाक खनेर घुम्ती बनाउँदै लप्सीबोटमुनिको फाँटमा सडक निकाल्ने गरी सहमति बन्यो ।’ प्रजिज बस्नेतले भने । यमगाउँमुनि सडक खन्न पहिरो झरेमा रोकथामका लागि सहयोग गर्ने प्रजिअको भनाइ छ ।

गुम्दा–माछाखोला सडक निर्माण गर्दा लप्सीबोटका सोमबहादुर गुरुङको पाँच ठाउँमा बारी परेपछि केही बिबाद भएको थियो । जंगलतर्फ सडकको ट्रयाक नखनी लालपूर्जा भएको जग्गामा मात्रै खनिएको भन्दै गुरुङले सडक खन्न रोक्ने चेतावनी दिएका थिए । स्थानीयबीच बिबाद हुँदा सडक बनाउन गएको डोजर तीन पटकसम्म फर्काउनुपरेको थियो ।

जिल्लास्थित एघारकिलो सडक आयोजनाका प्राबिधिक बालकृष्ण गौतमका अनुसार यमगाउँ तर्फबाट सडकको ट्रयाक खन्ने काम सुरु हुँदैछ । ‘लप्सीबोटबासीले आफ्नो गाउँबाट सडक खन्नुपर्ने माग गरेपनि कमजोर भुबनावटले गर्दा लप्सीबोटबाट सडक खन्न सकेनौं । यमगाउँ तल हुँदै कुवा जोगाएर सडक ट्रयाक खुलाउने सहमति बनेको छ ।’ गौतमले भने ।

गुम्दाबाट माछाखोलासम्म करिब १३ किलोमिटर नयाँ ट्रयाक खन्नुपर्ने छ । यो सडकखण्ड खुलाउन रु। ९४ लाख बजेट परेको थियो । ट्रयाक खुलाउने जिम्मा थेगिम कन्स्ट्रक्सनले पाएको छ । अब करिब चार किमी ट्रयाक खुलाउन पुग्ने बजेट बाँकी रहेको जिल्लास्थित सडक कार्यालयले जनाएको छ । रासस


क्लिकमान्डु