एनबी इन्स्योरेन्सको २ लाख कित्ता सेयर आइएमइ समूहमा नामसारी




काठमाडौं । एनबी समूहसँग रहेकोमध्ये १ लाख ९५ हजार कित्ता सेयर आइएमइ समूहको नाममा नामसारी भएको छ । २ दिनअघि अर्थात् बिहीबार मात्रै सो सेयर नामसारी भएको हो ।

अब २ लाख कित्ताभन्दा बढी नामसारी हुन बाँकी रहेको एनबी इन्स्योरेन्सका एक सञ्चालकले क्लिकमाण्डूलाई जानकारी दिए ।

‘एनबी समूहको नाममा रहेको एनबी इन्स्योरेन्सको १ लाख ९५ हजार कित्ता सेयर बिहीबार आइएमइ समूहको नाममा नामसारी भएको छ,’ ती सञ्चालकले भने,- ‘आगामी केही दिनभित्रै बाँकी हरेको सेयर स्वामित्व नामसारी हुन्छ ।’

बाँकी रहेको सेयर स्वामित्व नामसारी भएपछि एनबी इन्स्योरेन्समा नयाँ समूहको ९० प्रतिशत स्वामित्व हुनेछ । बाँकी १० प्रतिशत भने एनबी बैंकको नाममा रहने छ ।

सेयर स्वामित्व नामसारी भएपछि एनबीको नाम परिवर्तन गरी आइएमइ इन्स्योरेन्सको नाममा सञ्चालन गरिने ती सञ्चालकले बताए । आइएमइ समूहले २ वर्षअघि एनबीको ५७ प्रतिशत सेयर प्रतिकित्ता ८१ रुपैयाँ ५० पैसामा किनेको थियो ।

समस्याग्रस्त अवस्थामा रहेको एनबी इन्स्योरेन्सको सेयर किनेर २ वर्षअघि आइएमइ समूहले प्रवेस गरेको हो । नयाँ समूहले किन्दा कम्पनीको चुक्ता पुँजी १४ करोड रुपैयाँ थियो । अहिले कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ छ ।
बीमा समितिले शुक्रबार निर्देशन जारी गर्दै आगामी डेढ वर्षभित्र निर्जीबन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ बनाउनुपर्ने व्यवस्था गरेको छ ।


पुष्प दुलाल