दुई वर्षपछि कारोबार खुल्दा पनि एनसीसी बैंकका सेयरधनीलाई घाटा



काठमाडौं । दुई बर्षदेखि कारोबार बन्द भएको एनसीसी बैंकको कारोबार सोमबार खुल्ला भयो । कारोबार खुलेकै दिन ९ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

तर, कारोबार खुलेकै दिन एनसीसी बैंकका सेयरधनीहरुले घाटा व्यहोर्नु परेको छ । सोमबार बिहान कारोबार खुल्दा एनसीसीको प्रतिकित्ता सेयर मूल्य ३ सय १३ रुपैयाँ कायम भएको थियो ।

कारोबार बन्द हुँदा बैंकमा एक कित्ता सेयर हुनेले एकैदिन ६ रुपैयाँ गुमाएका छन् । किनभने बैंकको प्रतिकित्ता सेयर मूल्य ३ सय ७ रुपैयाँमा झरेर कारोबार बन्द भयो ।

दिउसो एकपटक सेयर मूल्य बढेर प्रतिकित्ता ३ सय २८ रुपैयाँसम्म पुगेको थियो ।

लगातार ४ दिन बढेर नेप्से सूचक १३५८ अंकमा उक्लियो

पुँजी बजारको सूचक नेप्से इन्डेक्स लगातार ४ दिन बढेर १३५८ अंकमा पुगेको छ । सोमबार पनि नेप्से ४ अंकले बढेको छ ।

तीन दिनदेखि लगातार नेप्से सूचक दोहोरो अंकले बढेको थियो ।

सोमबार १ सय ४१ कम्पनीको १५ लाख ५० हजार २ सय ३८ कित्ता सेयर कारोबार भएको छ । सोमबार ७४ करोड ७३ लाख रुपैंयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

सोमबार उपसूचकहरु मध्ये बित्त कम्पनी र बीमा बाहेक सबै उपसूचकहरु बढेका छन् । बित्त २.१८ अंक र बीमा ३.५२ अंकले घटेको छ ।

त्यसैगरी, बैकिङ् ४.९९ अंक, होटल ९.४४ अंक, बिकास बैंक १.४८ अंक, जलबिद्युत् ६.७३ अंक, उत्पादन ०.३२ अंक र अन्य ५.७८ अंकले बढेको छ ।

सोमबार सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको ११ करोड ५२ लाखको कारोबार भएको छ । ग्लोबल आइएमईको ९ करोड २६ लाखको कारोबार भएको छ ।

कसले कमाए ? कसले गुमाए ?

सोमबार नागबेली लघुबित्त र आरडिएससीका लगानीकर्ताले झण्डै ८ प्रतिशतले कमाएका छन् । यस्तै सेती फइनान्सका लगानीकर्ताले ७.५०, जानकी फाइनान्सका लगानीकर्ताले ५.३४ प्रतिशत र रिलायन्स फाइनान्सका लगानीकर्ताले ५.२६ प्रतिशतले कमाएका छन् ।

सबैभन्दा बढी सिन्धु बिकास बैंकको मुल्य ७.६९ प्रतिशतले घटेको छ । यस्तै पुर्णिमा बिकास बैंक र वोमी माइक्रो फाइनान्सको मुल्य क्रमशः ३.६५ प्रतिशत र ३.५४ प्रतिशतले घटेको छ ।


पुष्प दुलाल