सडक छेकेर जुलुस गरे ३ बर्ष जेल र ३० हजार जरिवाना




काठमाडौं । अबदेखि शक्ति प्रदर्शनको नाममा सार्बजनिक सडक छेक्न वा हिडडुलमा अबरोध गर्न नपाइने भएको छ । पैदलयात्री, सवारी साधन वा पशुको आवागमनमा वाधा उत्पन्न गरेपनि कारबाही हुने भएको छ ।

ब्यवस्थापिका संसदले तयार पारिरहेको ‘फौजदारी कसुर सम्बन्धि प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा यस्तो ब्यवस्था गरिएको हो ।

बिधेयकको दफा ६४ मा सार्बजनिक स्थानमा आवागमनमा वाधा गर्न नहुने ब्यवस्था गरिएको छ । यस्तो ब्यवस्था कार्यान्वयमा आउन सके सडक थुनेर सभा तथा जुलुस गर्ने र चक्काजामको नाममा सार्बजनिक सडकमा अवरोध सिर्जना गर्ने कार्य कानूनी रुपमा दण्डनीय हुनेछ ।

‘कसैले सार्बजनिक सडक, बाटोघाटो, रज्जुमार्ग, केबुलकार मार्ग, बिमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग वा हुलाक र कुनै सार्बजनिक सेवाको संचालनमा कुनै किसिमको डर, त्रास, भय देखाई बन्द गर्न वा कुनै किसिमबाट सार्बजनिक सडक, रज्जुमार्ग, केबुलकार मार्ग, बिमानस्थल, रेल्वे वा जलपरिवहन मार्ग अबरुद्ध गरी पैदलयात्री, सवारी साधन वा पशुको आवागमनलाई वाधा पुर्याउन वा कानुन बमोजिम अधिकार प्राप्त अधिकारीको आदेशले बाहेक सार्बजनिक ठाउमा कसैलाई प्रवेश गर्न कुनै किसिमले बाधा, अबरोध गर्न हुदैन,’ बिधेयकको दफा ६४ को उपदफा १ मा उल्लेख गरिएको छ ।

सोही दफाको उपदफा २ मा यस्तो कार्य गरे हुने कारबाहीको ब्यवस्था गरिएको छ ।

‘उपदफा १ बमोजिमको कसुर गर्ने वा गराउने ब्यक्तिलाई ३ बर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ,’ सो दफाको उपदफा २ मा उल्लेख गरिएको छ ।

सो बिधेयक ब्यवस्थापिका संसदको बिधायन समितिमा छलफलको क्रममा छ । समितिले पारित गरेर पुन ब्यवस्थापिका संसदमा पेश गरेपछि र संसदले पारित गरेर राष्ट्रपतिबाट लालमोहोर लागेपछि कानुनको रुपम लिनेछ ।


क्लिकमान्डु