रेवतबहादुरज्यू, सेयरधनी काठमाडौंका मात्रै हुन् र ?



काठमाडौं । केही दिनअघि पुँजी बजारकोे जनचेतना बढाउन धनगढी पुगेको धितोपत्र बोर्डको टोलीलाई त्यहाँका लगानीकर्ताको प्रश्न सेयर लिलामी धनगढीबाट भर्ने व्यवस्था मिलाइदिनको लागि थियो ।

पछिल्लो समय पुँजी बृद्धिको कारण बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर बाढी नै आएको छ । पछिल्लो एक वर्षमा मात्र १९ अर्ब रुपैयाँको हकप्रद सेयर जारी गर्ने अनुमती धितोपत्र बोर्डले दिइसकेको छ । बाँकी ९ अर्ब रुपैयाँ अनुमतीको पर्खाईमा रहेका छन् ।

धितोपत्र बोर्डले गरेको व्यवस्थाअनुसार हकप्रद सेयर जारी नगर्दा बिक्री नभएको सेयर लिलामीमा भर्नुपर्ने व्यवस्था छ । कम्पनीले जसरी प्राथमिक निष्कासन (आइपिओ) जारी गर्दा प्रचार गर्छन् सो अनुसार हपप्रद जारी गर्दा त्यती प्रचार गर्ने गरेको पाइँदैन ।

देशभर शाखा सन्जाल रहेको ग्रामीण तहसम्म पहुँच भएको कृषि विकास बैंकको सेयर लिलामी भर्न काठमाडौं आउनुपर्ने बाध्यताले सेयर बजार अझैपनि काठमाडौंबाट बाहिर नगएको देखिन्छ ।

खासगरी २० देखि ३० रुपैयाँको हकप्रद सेयर जारी गर्दा २ देखि ३ करोड रुपैयाँको सेयर बिक्री नभएपछि लिलामी प्रक्रियाबाट सेयर बिक्री गर्दा कम्पनीलाई फाइदा हुने गरेको छ । जस्तो कृषि विकास बैंकले सेयर लिलामीबाट न्यूनतममा पनि ४० करोड रुपैयाँ आफ्नो रिजर्भमा राख्न सफल भएको छ । हकप्रद सेयर जारी गर्ने कम्पनीलाई न्यूनतम पनि १० प्रतिशतसम्म हकप्रद सेयर बिक्री नभएमा रिजर्भमा पैसा बढाउनको लागि फाइदा हुने गर्छ ।

यहाँ उठाउन खोजिएको विषय लिलामीको सेयरबाट कम्पनीलाई कति फाइदा भयो भन्ने होइन । देश संघीयतामा गएको छ । सो अनुसारका संरचनाहरु खडा भएका छन् । सेयर बजारमा भने अहिलेसम्मको संरचना केन्द्रिकृत र एकात्मक छ ।

कृषि विकास बैंकमा १२ हजार व्यक्तिले लिलामी प्रक्रियाबाट सेयर भरे । जसले भर्न खोजेका थिए उनीहरुलाई सेयर भर्नकै लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । देशभर शाखा सन्जाल रहेको ग्रामीण तहसम्म पहुँच भएको कृषि विकास बैंकको सेयर लिलामी भर्न काठमाडौं आउनुपर्ने बाध्यताले सेयर बजार अझैपनि काठमाडौंबाट बाहिर नगएको देखिन्छ ।

सेयर लिलामीको आकर्षण केही दिनअघिको कृषि विकास बैंकको लिलामीले देखाइसकेको छ । सेयर लिलामीको फारम भर्न बिक्री तथा निष्कासन प्रवद्र्धक एस क्यापिटलमा लागेको भिडले लिलामी भर्नको लागि देखिएको आकर्षणलाई प्रष्ट पार्छ ।

हालै मात्र जनता बैंकले बिक्री नभएको सेयर लिलामीको लागि सार्वजनिक आह्वान गरेको छ । जसमा लिलामी सेयर एनसिएम मर्चेन्ट बैकिङ लिमिटेडबाट मात्र पाइन्छ । अर्थात लिलामीको सेयर भर्नका लागि काठमाडौं नै आउनुपर्छ । यस्तै सगरमाथा फाइनान्सले बिक्री गर्न लागेको लिलामी सेयर भर्नको लागि उसको केन्द्रीय कार्यालय मानभवन पुग्नुपर्छ ।

धितोपत्र बोर्डले सेयर लगानीकर्ताहरुको हितमा काम गर्नुपर्छ । किनभने राज्यले बोर्डलाई नै त्यो जिम्मेवारी दिएको छ । तर, बोर्डले अहिलेसम्म गरेको व्यवस्था उपत्यका बाहिरका लगानीकर्तामैत्री छैन ।

धितोपत्र बोर्डले हकप्रद सेयर बिक्रीको लागि गर्नुपर्ने प्रचार प्रसारको व्यवस्था पनि कार्यान्वयन भने भएको छैन । अहिले संस्थापक सेयरधनीले आम्दानी देखाउनुपर्ने वा प्रतिफल कम भएको आधारमा सेयर नभरेको भएपनि सर्वसाधरण सेयरधनीले भने समयमा सूचना नपाएको कारण हकप्रद भरेका हुँदैनन् ।

आइपिओ जारी गर्ने समयमा देशभर प्रचार गर्नेहरु हकप्रद जारी गर्ने समयमा काठमाडौंमा मात्र सिमित हुन्छन् । जुन कृषि विकास बैंकको हकप्रदले देखाइसेको छ । बिक्री नभएको लिलामी सेयर सूचना भने रिङरोडबाट बाहिर जाने सम्भावना कम नै हुन्छ ।

धितोपत्र बोर्डले पुँजी बजारमा जनचेतना जगाउनको लागि कहिले रोल्पा त कहिले डोल्पा पुग्ने गरेको छ । तर, सेयरमा लगानी हुनसक्ने क्षेत्रमा पनि अहिलेसम्म पुँजी बजारलाई बढाउन सकिएको छैन । उदाहरणका लागि पोखरा, बिराटनगर, बीरगन्ज, भैरहवा तथा नेपालगञ्ज जस्ता शहरलाई लिन सकिन्छ ।

कृषि विकास बैंकको सेयर लिलामीले यो आइपिओ हो वा लिलामी हो छुट्याउन गार्रो हुने स्थिती थियो । अर्थात् लगानीकर्ताको चाप यति धेरै थियो कृषि विकास बैंकको सेयर लिलामीमा एस क्यापिटले लिलामी हुने अघिल्लो दिन नै फर्म सकिएको घोषणा गरेको थियो ।

लगानीकर्ता संगठन भन्नेहरु जब सेयर बजार ओरालो लाग्छ त्यो समयमा विभिन्न माग राख्दै धितोपत्र बोर्ड, राष्ट्र बैंक तथा अर्थ मन्त्रालय विभिन्न माग राख्दै पुग्ने गर्छन् । तर, सेयर बजारका साना विषयहरु जसले लगानीकर्ताको संख्या बढाउन सक्छ त्यसमा ध्यान दिएको पाइँदैन ।

जे भएपनि धितोपत्र बोर्डले सेयर लगानीकर्ताहरुको हितमा काम गर्नुपर्छ । किनभने राज्यले बोर्डलाई नै त्यो जिम्मेवारी दिएको छ । तर, बोर्डले अहिलेसम्म गरेको व्यवस्था उपत्यका बाहिरका लगानीकर्तामैत्री छैन । बोर्डका अध्यक्ष रेवतबहादुरलाई प्रश्न- के सेयर लगानीकर्ता काठमाडौंका मात्रै हुन् ?


पुष्प दुलाल