काठमाडौंबासीलार्इ आउँदो दशैंको उपहारमा मेलम्चीको पानी, चक्रपथ बाहिर पनि वितरण



काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मेलम्चीको पानी चक्रपथ बाहिर पनि वितरण गर्ने जनाएको छ ।

कम्पनीको पाँचौँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा महाप्रबन्धक डा महेशप्रसाद भट्टराईले मेलम्चीको पानी चक्रपथभित्र तथा बाहिर पनि वितरण गर्ने जानकारी दिए ।

उनले हाल ४० करोड लिटर पानीको माग रहेकोमा संस्थानको उत्पादन क्षमता औसत दैनिक ११.७ करोड लिटर मात्र रहेको बताए ।

यो वर्षमा थप तीनवटा ट्युवबेल निर्माण कार्य सम्पन्न हुने पनि उनले जानकारी दिए। त्यस्तै,सुक्खा मौसममा २१ वटा ट्याङ्करबाट पानी अभाव क्षेत्रमा पानी वितरण गर्दै आएको पनि उनले उल्लेख गरे ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले मन्त्रालयले दशैँभित्र मेलम्चीको पानी दसैँको उपहारको रुपमा काठमाडौँमा वितरण गर्ने बताए ।

सयौँ वर्ष पुरानो पानी वितरण प्रणाली अहिले जटिल भएको उनले बताए । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले मेलम्चीको चार किलोमिटर सुरुङ निर्माण कार्य बाँकी रहेको जानकारी दिए ।

कार्यक्रममा कम्पनीका सचिव मिलनकुमार शाक्य, महसुल निर्धारण आयोगका अध्यक्ष उपेन्द्रकुमार अधिकारी, लिमिटेडका अध्यक्ष सुरेशकुमार बस्नेतलगायतका वक्ताले पनि आफ्ना धारणा राखेका थिए ।


क्लिकमान्डु