स्याङ्जाको माझकोटमा सौर्य लिफ्टिङ खानेपानी निर्माण सुरु



वालिङ । स्याङ्जाको माझकोट शिवालय गाविसको बुढाकोटमा सौर्य लिफ्टिङ खानेपानी योजनाको निर्माण थालिएको छ । नेपाल सरकार र फिनल्यान्ड सरकारको संयुक्त लगानीमा माझकोट शिवालय सौर्य लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको हो ।

गाउँभन्दा मुनि रहेको मूलबाट करिब तीन सय मिटरको उचाइमा पानी तानेर गाउँमा रहेको ट्याङ्कीमा सङ्कलन गर्ने योजना बनाएको खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष जमबहादुर गुरुङले बताए। पानीको सहजता भएपछि बुढाकोटका ३५ घरधुरी लाभान्वित हुनेछन् । २०७३ साल चैत मसान्तसम्म निर्माण कार्य सक्ने गरी सुरु गरिएको उक्त योजनाको ४९ लाख चार हजार एक सय रुपैयाँ लागत अनुमान गरिएको छ ।

खानेपानीको समस्या भएकै कारण यस ठाउँबाट बसाइँसराइ जाने गरेकामा अब भने गाउँमै खानेपानीको पहुँच पुग्ने भएपछि बसाइँसराइ रोकिने विश्वास लिएको समितिका कोषाध्यक्ष गुरुङले बताए। पिउने पानीका लागि त्यहाँका बासिन्दाले अहिले आधा घन्टादेखि एक घन्टासम्मको समय लगाएर एक गाग्री खानेपानीको जोहो गर्ने गरेका छन् ।


क्लिकमान्डु