हुलाकी राजमार्ग निर्माणका लागि रेखाकंन तयार




धनगढी । धनगढी बजार क्षेत्रको कुन ठाउँबाट पूर्वपश्चिम हुलाकी राजमार्ग निर्माण गर्ने भन्ने विषयमा टुङ्गो लागेपछि लामो समयदेखिको अन्योल हट्ने भएको छ ।

प्राविधिकले धनगढी उपमहानगरको मोहना नदीको पुलदेखि वडा नं २ र ८ हुँदै क्याम्पस चोकसम्म हुलाकी राजमार्ग निर्माण गर्न उपयुक्त हुने प्रतिवेदन तयार पारेपछि अन्योल हट्ने देखिएको हो । प्राविधिकले अध्ययन सर्वेक्षणपछि राजमार्ग निर्माण गरिने ठाउँको रेखाकंन समेत गरिसकेको हुलाकी राजमार्ग आयोजना कैलालीका प्रमुख तुरन्त मण्डलले बताए ।

मुख्य बजार क्षेत्र र घना बस्तीबाट राजमार्ग निर्माण गर्दा घरलगायत धेरै संरचना पर्ने भई लागतका दृष्टिमा त्यति उपयुक्त नहुने भएकाले बजारको बाहिरी भाग वडा नं २ र ८ हुँदै क्याम्पस चोक जोड्ने गरी हुलाकी राजमार्गको रेखाकंन गरिएको मण्डलले जानकारी दिए ।

रेखाकंन गरिएको सो क्षेत्रबाट राजमार्ग निर्माण गर्दा क्याम्पस चोकदेखि मोहना पुलसम्म दुई पुलसहित जम्मा छ किमी लामो राजमार्ग निर्माण गर्नुपर्ने देखिएको छ । रेखाकंन गरिएको हुलाकी राजमार्गको यो खण्डको स्वीकृतिका लागि हुलाकी सडक आयोजना केन्द्रीय कार्यालयमा पठाइएको छ । स्वीकृत भएर आएपछि आगामी एक दुई महिनामा निर्माण अघि बढ्ने बताइएको छ । रासस


क्लिकमान्डु