उद्योगमन्त्रीले मुस्कुराउँदै भने- एक वर्षभित्र यसरी भित्र्याउँछौं साढे १३ खर्ब लगानी




काठमाडौं । उद्योगन्त्री नविन्द्रराज जोशीले लगानी सम्मेलनमा लगानीकर्ताले जनाएको प्रतिवद्धता एक वर्षएभित्र कार्यान्वयनमा ल्याइसक्ने योजना सार्वजानिक गरेका छन् ।

लगानी सम्मेलन सकिएपछि आयोजना गरिएको पत्रकार सम्मेलन कार्यक्रममा उनले यस्तो जानकारी दिए ।

उद्योगमन्त्रीको संयोजकत्वमा मूल समिति बनाउने र अन्य सरोकारवाला निकाय र मन्त्रालयका प्रतिनिधि रहेको ४ वटा उपसमिति गठन गरी एक वर्षभित्रमै प्रतिवद्धता गरिएको लगानीलाई तार्किक निष्कर्शमा पुर्याउने उनले बताए ।

‘मेरो अनुहामा झल्केको खुसीले सम्मेलनबाट सरकार कति सन्तुष्ट छ भन्ने तपाईँहरुले देख सक्नुहुन्छ, राजनीतिक अस्थिरताको बीचमा पनि आर्थिक विकास र सम्मृद्धि संभव छ भनेर विश्व समुदायलाई देखाउन हामी आतुर छौं’

‘विश्वभरबाट नै लगानीकर्ताको उल्लेख्य सहभागिता र उत्साह देखेर म साह्रै नै उत्साहित भएको छु, यो प्रतिवद्धतालाई एक वर्षभित्रमा कार्यान्वयन गरिसक्न मेरो संयोजकत्वमा बन्ने मूल समिति र चार उपसमितिले निरन्तर फलोअप गरेर प्रतिवद्धतालाई निष्कर्शमा पुर्याउने छ,’ मन्त्री जोशीले भने ।

लगानी सम्मेलनमा ६ देशका १६ र नेपाली लगानीकर्ता गरी कूल १३ खर्ब ६० अर्ब रुपैयाँ अर्थात १३ अर्ब ५२ करोड अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

यो प्रतिवद्धतालाई साकार पार्न यस्तो तयार गरिएको मन्त्री जोशीले जानकारी दिए । लगानी सम्मेलनले नेपालको सुनौलो दिनको सुरुवात भएको उनको भनाई छ ।

‘प्रमुख ३ राजनीतिक दलका शीर्ष नेताले आर्थिक वृद्धि, विकास र लगानी प्रवद्र्धनप्रति जुन प्रकारको प्रतिवद्धता जनाउनु भएको छ, त्यसले लगानीकर्तामा राजनीतिक प्रतिवद्धताप्रतिको शंका मेटाएको छ,’ उनले भने,– ‘अब सरकारले नीतिगत सुधार र स्थायित्व कायम गर्ने ऐन-कानून बनाएर लगानी प्रवद्र्धन र संरक्षण गर्छ ।’

सम्मेलनमा व्यक्त लगानीको प्रतिवद्धता र व्यापक सहभागिताले आफू असाध्यै उत्साहित बनेको उनले दोहोर्याए ।

‘मेरो अनुहामा झल्केको खुसीले सम्मेलनबाट सरकार कति सन्तुष्ट छ भन्ने तपाईँहरुले देख सक्नुहुन्छ, राजनीतिक अस्थिरताको बीचमा पनि आर्थिक विकास र सम्मृद्धि संभव छ भनेर विश्व समुदायलाई देखाउन हामी आतुर छौं,’ मन्त्री जोशीले भने ।

लगानीकर्तालाई सहज बातावरण बनाउन सरकारले ३ महिनाभित्रै ३ प्रमुख काम गर्ने उनले जानकारी दिए ।

‘कम्पनीको अनलाइन दर्ता, अनलाइन भुक्तानी र डिजिटल सिग्नेचर ३ महिनाभित्रै कार्यान्वयनमा ल्याउने छौं,’ उनले भने ।

नेपाल लगानीको भर्जिन ल्याण्ड भएको भन्दै उनले लगानीको डुब्लिकेशनले समस्या नपार्ने उनको भनाई थियो ।

‘रेल बनाउँछु भनेर ३ वटा कम्पनी आए भने एउटालाई मेचीदेखि बीरगञ्जसम्म, अकोलाई बीरगञ्जदेखि महाकालीसम्म र तेस्रोलाई काठमाडौंदेखि लुम्बीनीसम्म रेल बनाउने जिम्मा दिन सकिन्छ,’ उनले भने ।

सडक पूर्वाधार बिमानस्थलजस्ता पूर्वाधारको विकास नभएको र यो क्षेत्र लगानीको ठूलो संभावना भएको क्षेत्र भएकाले डुब्लिकेसनले समस्या नपार्ने उनको भनाई छ ।


पुष्प दुलाल