राजविराज विमानस्थलमा असारसम्म परीक्षण उडान गरिसक्ने



सप्तरी। राजविराज विमानस्थल निर्माण हुने म्याद आगामी मङ्सिरसम्म रहे पनि असारभित्रै तयार हुने भएको छ ।

व्यवस्थापिका–संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बिहीबार राजविराज विमानस्थलकै सभाहलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बनाउने समयसीमा मङ्सिरसम्म भए पनि असारभित्रै विमानस्थलको रनवे तयार भइसक्ने जानकारी गराइयो ।

समितिका सभापति प्रभु साहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विमानस्थल निर्माण कार्यका प्रमुख रामएकवाल महतोले असारभित्रै जहाज उड्न योग्य विमानस्थल बनाइसक्ने जानकारी दिए।

अहिले द्रुत गतिमा काम भइरहेको बताउँदै उनले असारसम्म परीक्षण उडान गरिसक्ने बताए ।

विमानस्थलको १५ सय मिटर लामो र ३० मिटर चौडाइ भएको रनवे निर्माण कार्य भइरहेको बताउँदै उनले यो विमानस्थल विराटनगरको जस्तै रहने बताए । ३० करोड ३० लाख रुपैयाँमा रनवे बनाउने काम भइरहेको जानकारी गराउँदै विमानस्थललाई सञ्चालन गराउनका निम्ति बजेटको कुनै अभाव नरहने विश्वास व्यक्त गरे ।

समितिका सभापति प्रभु साहले आफू नेतृत्वको समितिले राजविराज विमानस्थलको निर्माण कार्यलाई प्राथमिकतामा राखेको बताउँदै बजेटको कुनै अभाव हुन नदिने बताए।

उनले विमानस्थल निर्माण भए पनि विमानस्थलसँगै रहेको कुनौली सडक र हुलाकी सडक चार लेनको बनाउन पनि आग्रह गरे।

कार्यक्रममा सप्तरी क्षेत्र नं २ का सांसद अमर मण्डल, क्षेत्र नं ३ का समानुपातिक सांसद जितेन्द्रनारायण देवसहित अधिकांश सदस्य सांसदको उपस्थिति रहेको थियो ।

कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मीले कुनै पनि बहानामा विमानस्थलको निर्माण कार्य रोकिन नहुने भन्दै आफूहरुबाट सक्दो सहयोग गरिने बताए। रासस


क्लिकमान्डु