नेपालमा साढे ११ खर्ब लगानी गर्ने विदेशी लगानीकर्ताको प्रतिवद्धता



काठमाडौं । विदेशी लगानीकर्ताहरुले नेपालको पूर्वाधार र जलविद्युत लगायतका विभिन्न क्षेत्रमा साढे ११ खर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएका छन् ।

राजधानीमा भइरहेको अन्तराष्ट्रिय लगानीकर्ता सम्मेलनमा लगानीकर्ताहरुले सो रकम बराबरको लगानी गर्ने प्रतिवद्धता जनाएको लगानी बोर्डका उपसचिव खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

‘हिँजो र आज १ बजेसम्ममा लगानीकर्ताहरुले नेपालमा साढे ११ खर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाउनुभएको छ,’ रिजालले क्लिकमाण्डूसँग भने,- ‘अझै २ वटा सेसन हुन बाँकी नै छ । साँझसम्ममा करिब १५ खर्बको प्रतिवद्धता आउने हाम्रो अनुमान छ ।’

सम्मेलनमा २० देशका २ सय ४० जना लगानीकर्ता सहभागि भएको उनले बताए । जसमा सबैभन्दा धेरै चीनबाट १०० जना र दोस्रो धेरै भारतबाट ५० जना लगानीकर्ताहरु सहभागि भएका छन् ।

‘हामीले २ सय जना लगानीर्ता सहभागि हुनुहुन्छ होला भन्ने अपेक्षा गरेका थियौं, तर २ सय ४० जना सहभागि हुनुभएको छ,’ रिजालले भने,- ‘यसको अर्थ के हो भने विदेशीहरु नेपालमा लगानी गर्न इच्छुक छन् ।’

सम्मेलनमा विदेशीहरुले गरेको लगानीको प्रतिवद्धता सरकारले अपेक्षा गरेभन्दा धेरै बढी हो ।

सम्मेलनको आयोजक कमिटिका संयोजकसमेत रहेका उद्योगमन्त्री नविन्द्रराज जोशीले १ खर्ब बराबरको लगानी आउने बताउँदै आएका थिए ।


पुष्प दुलाल