स्थानीय तहको निर्वाचन प्रचारमा हेलिकप्टर प्रतिबन्ध




काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको प्रचारको क्रममा राजनीतिक दल तथा उम्मेदवारले हेलिकप्टरको प्रयोग गर्न नपाइने बताएको छ ।

आयोगले आजदेखि लागु हुने गथरेर निर्वाचनका लागि आचारसंहिता २०७३ जारी गरेको छ ।

आयोगद्वारा जारी आचारसंहिताबारे आयोगका पदाधिकारी र मन्त्रीका बीचमा बहस भएको थियो । आयोगले प्रचारका लागि हेलिकप्टर प्रयोग गर्न नपाइने व्यवस्थाको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले विरोध गरे ।

‘दुर्गम क्षेत्रमा हेलिकोप्टर प्रयोग नगरी कसरी निर्वाचन गर्नुहुन्छ,’ शाहीले आयोगलाई प्रश्न गर्दै भने ।

सरकारमा सहभागी मन्त्रीले सामूहिक रुपमा निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्र र गाउँमा जान पाउनुपर्ने र सरकारका नीति तथा कार्यक्रम एवम् बजेटमा निर्धारित कार्यक्रमानुसार शिलान्यास एवं उद्घाटन गर्न पाउनुपर्ने जिकिर गरेका थिए ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भने यो राष्ट्रिय निर्वाचन नभई स्थानीय तहको भएकाले मन्त्रीले सरकारको प्रतिनिधित्व गर्ने हुनाले शिलान्यास र उद्घाटन गर्न नपाइने बताए ।
प्रमुख निर्वाचन आयुक्तको यस्तो जवाफप्रति मन्त्रीहरुले यसबाट सामूहिक रुपमा नै जनताको विकासमा अवरोध हुने बताएका थिए ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले स्थानीय तह पुनःसंरचना आयोगसम्बन्धी प्रतिवेदन छिटो आयोगलाई पठाउन मागसमेत गरे ।

उपप्रधानमन्त्री कृष्णबहादुर महराले निर्वाचनलाई आवश्यक पर्ने बजेट निकासा हुने जानकारी दिँदै नियमित कार्यक्रममा परेका विकासका योजनालाई अगाडि बढाउन आचारसंहिता अवरोधक बन्न नहुँने धारणा राखे । रासस

 


क्लिकमान्डु