जलविद्युत् क्षेत्रमा ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने ऊर्जामन्त्रीको घोषणा



काठमाडौं । ऊर्जामन्त्री जनार्दन शर्माले ५ प्रतिशत ब्याजदरमा जलविद्युत् आयोजना निर्माण गर्न ऋण उपलब्ध गराउने तयारी भएको बताएका छन् ।

ऊर्जा अर्थतन्त्रको मेरुदण्ड भएको बताउदै शर्माले कर्जा उपलब्ध गराउन अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई अनुरोध गरेको बताए ।

उनले विद्युत उत्पादन बढाएर २ वर्ष भित्रमा खाना पकाउने ग्यासलाई प्रतिस्थापन गर्ने लक्ष्य सुनाए ।

उनले ऊर्जाको आन्तरिक खपत बढाउने सरकारको योजना रहेको सुनाउदै २ वर्षभित्र खाना ग्यासमा नभई बिजुलीमा पकाउने गरी आपूर्ति व्यवस्था मिलाइने स्पष्टपारे ।

जलस्रोत तथा ऊर्जा पत्रकार समाज (वारेज) ले आज राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे उनले बिजुली निकासीमा नभएर आन्तरिक खपतमा जोड दिनुपर्ने जोड दिए ।

‘आज १० हजार मेगावाट उत्पादन गरेपनि स्वदेशमै खपत हुने छ,’ मन्त्री शर्माले भने ‘म त्यो बिजुली खपत हुने ठाउँ देखाउन सक्छु ।’ उनले खपतबाट बढी भएको बिजुली निकासी गर्ने योजना सुनाए ।

सो अवसरमा मन्त्री शर्माले तीला जलविद्युत आयोजनामा कर्णालीबासीलाई लगानीको अवसर दिइने बताए । उनले कर्णालीका प्रत्येक घरबाट स्वपुँजी जुटाएर तिला आयोजनामा लगानी गर्न दिने जानकारी दिए । सस्तो आयोजना भएकाले जनतालाई लगानी गर्न दिने उनले स्पष्ट पारे ।

जनतालाई सेयर दिने भनेपछि स्थानियस्तरमा समस्या नआउने भन्दै उनले यस विषयमा पहिला नै जनतालाई स्पष्टपार्न मन्त्री शर्माले लगानीकर्तालाई सुझाव दिए ।

ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले उपभोक्ताले सहयोग गरेकाले विद्युत आपूर्ति व्यवस्थापन गर्न सहज भएको बताए ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण अभियानबाट थप १ अर्ब २५ करोड रुपैयाँ वचत भएको बताए । उद्योगीले थप ३ सय मेगावाट बिजुली माग गरेको बताउदै विस्तारै उद्योगमा आपूर्ति बनाउन जानकारी दिए ।


क्लिकमान्डु