लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र रुपन्देही जिल्ला जोडिँदै, एक अर्ब लागतमा सडक निर्माण शुरु



बुटवल। रुपन्देहीको पश्चिम क्षेत्रबाट बुद्ध जन्मस्थल लुम्बिनी जोड्ने विभिन्न सडक तथा पुल  निर्माण प्रारम्भ भएका छन् ।

सैनामैना चक्रपथ तथा मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक, दानव नदी पुल कर्साघाट, सैनामैना नगरपालिकादेखि सेमलार जोड्ने सडक योजना एकैसाथ सुरु भएका हुन् ।

ती योजनाले रुपन्देहीको पश्चिम क्षेत्रका ग्रामीण क्षेत्रबाट बुद्ध जन्मस्थल लुम्बिनी, निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल र जिल्ला सदरमुकामसँगको दूरी छोटिने भएको छ । यी सडक योजनाको लागत एक अर्ब १५ करोड ८२ लाख ८३ हजार १६५ रुपैयाँ रहेको जिल्ला डिभिजन सडक कार्यालयले जनाएको छ ।

यस्तै सैनामैना–१ कर्साघाटमा दानव नदी माथि पुल तथा सेमलार जोड्ने सडक करिब १४ करोड ६० लाख पाँच हजार ४४४ रुपैयाँको लागतमा निर्माण गरिने भएको छ । एकसय अठ्ठाइस मिटर लम्बाइ तथा ११ मिटर चौडाइ रहेको पुल आव २०७५/०७६ मा निर्माण सम्पन्न हुने अनुमान छ ।

यो पुलले सैनामैनालाई दानव नदीपारिको ग्रामीण क्षेत्रसंग  जोड्नुका साथै भैरहवा, अन्तर्राष्ट्रिय विमानस्थलबाट नहरपुर बेलबास बेथरी सडक हुँदै सिधा अन्तर्राष्ट्रियस्तरको सम्पर्क बढाउने विश्वास गरिएको छ ।

क्षेत्रीय तथा पर्यटकीय सडकअन्तर्गत सैनामैना चक्रपथ सडक समेत एकैसाथ निर्माण प्रारम्भ भएको छ । ६९ करोड ९८ लाख ९९ हजार ४५९ रुपैयाँको लागतमा निर्माण गरिने सो चक्रपथ आव २०७४/०७५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयका प्रमुख मेघराज मरासिनीले जानकारी दिए ।

यस्तै मुर्गिया–सूर्यपुरा–लुम्बिनी सडक सम्भावित प्रादेशिक सडकको रुपमा यसलाई अगाडि बढाइएको छ । यो सडकको बजेट ११ करोड, ७९ लाख ९७ हजार १६४ मा बोलपत्र स्वीकृत गरिएको हो ।

यस्तै,रामापुर–लुम्बिनी सडक निर्माणको नौ करोड ७० लाख ५२ हजार ३२८ रुपैयाँमा बोलपत्र स्वीकृत भएको छ । क्षेत्रीय तथा पर्यटकीय सडकको रुपमा निर्माण गरिने यो सडक आव २०७४/०७५ सम्ममा निर्माण सम्पन्न गरिने सो कार्यालयले जनाएको छ ।

निर्माण सुरु गरिएका यी योजनाको पूर्व अर्थमन्त्री विष्णु पौडेलले मङ्गलबार एकै दिन शिलान्यास गरेका थिए । रासस


क्लिकमान्डु