किसानले यन्त्रबाट मकै रोप्न थाले, प्रतिघन्टा दुईदेखि तीन रोपनीमा रोप्न सकिने



नुवाकोट । गोरुले जोतेर मकै रोप्दै आएका यहाँका किसानले अब यन्त्रको सहयोगमा रोप्न थालेका छन् ।

चौघडा र खड्गभन्ज्याङमा किसानले नमुनाका रुपमा यन्त्रबाट मकै रोप्न थालेका हुन् । किसानलाई सहजताका लागि मकै रोप्ने यन्त्र सिमिट इन्टरनेसनल सिसा परियोजनाले भित्र्याएको हो ।

चौघडा र खड्गभन्ज्याङमा किसानले ‘पुस रो सिडर’ भनिने मकै रोप्ने यन्त्रबाट मकै रोप्न थालेका छन् । किसानलाई थोरै श्रममा धेरै उत्पादन गराउनका लागि प्रविधिको सहयोग गरिँदै आएको सिमिट कार्यक्रममा फिल्ड अफिसर देव खड्काले बताए ।

समथर र पहाडी भागमा उपयोगी हुने सो प्रविधिबाट किसानलाई समय र श्रमको बचत हुने उनको भनाइ छ । यो यन्त्र प्रयोग गर्नका लागि कुनै पनि इन्धन नचाहिने भएकाले किसानलाई अझ सहज र सस्तो पर्ने छ । गोरुभन्दा सस्तो र सजिलो पनि रहेकाले यन्त्रको  प्रयोगबाट मकै रोप्न सहज भएको चौघडाका किसान भोजराज न्यौपानेले बताए ।

उनले भने, ‘एउटा मेसिनबाट प्रतिघन्टा दुईदेखि तीन रोपनी जग्गामा मकै रोप्न सकिनेछ ।’ सो यन्त्र बजारमा १२ रुपैयाँ हाराहारी पर्ने गर्छ । किसानले चाहेका खण्डमा सिमिटले ५० प्रतिशत छुटमा समेत प्रविधि किसानलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको परियोजनाले जनाएको छ ।


क्लिकमान्डु