एकहजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण हुँदै



डडेल्धुरा । अमरगढी नगरपालिका– १ दहमा अत्याधुनिक प्रविधिको शीतभण्डार निर्माण भइरहेको छ ।

कृषिजन्य उत्पादनलाई लामो समयसम्म सुरक्षित साथ भण्डारण गरेर राख्नका लागि उक्त शीतभण्डार निर्माण गरिन लागेको हो । नयाँ प्रविधिसहितको निर्माण गरिन लागेको उग्रतारा शीतभण्डारको क्षमता एकहजार मेट्रिक टन रहेको छ ।

नेपाल सरकार साना तथा मझौला आयस्तर वृद्धि आयोजनाको ६५ प्रतिशत अनुदान र जिल्ला उद्योग व्यवसायीको ३५ प्रतिशत लगानीमा  शीतभण्डार निर्माण हुन लागेको निर्माण समितिका अध्यक्ष भोजराज भट्टले जानकारी दिए । आठ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको उक्त शीतभण्डारमा करिब दश हजार क्विन्टल आलुको बीउ राख्न सकिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

शीतभण्डार निर्माण भएपछि करिब नौसय घरधुरी लाभान्वित हुने छन् भने ५० देखि ६० जनाले रोजगार समेत पाउने भट्ट बताउँछन् । दुई वर्षदेखि निर्माणाधिन सो शीतभण्डार अबको तीन महिनापछि सञ्चालनमा आउने उग्रतारा कोल्डस्टोर प्रालिले जनाएको छ ।

 


क्लिकमान्डु