मुस्ताङ जाने पर्यटकले कुश्माका होटल भरिए



पर्वत । मुस्ताङ जाने पर्यटकका कारण पर्वतका होटल भरिभराउ बनेका छन् ।

उपल्लो मुस्ताङको भ्रमण गर्न जाने याम सुरु भएसँगै दैनिकजसो पर्यटक आउन थालेका छन् । यहाँ आन्तरिकसँगै भारतीय पर्यटकको घुइँचो लाग्न थालेको छ । विश्वप्रख्यात ट्राभल गाइड लोन्ली प्लानेटले उपल्लो मुस्ताङलाई विश्वकै १० उत्कृष्ट गन्तव्यमध्ये तेस्रो स्थानमा सूचीकृत गरेपछि पर्यटकको चहलपहल बढ्न थालेको हो ।

चिसो मौसम सकिएसँगै मुस्ताङ घुम्ने पर्यटकका कारण कुश्माका होटल भरिभराउ छन् । धौलागिरि क्षेत्रको प्रवेशद्वार मानिएको कुश्मा बजारमा मुस्ताङ जाने र फर्कने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

कुश्माबजारमा रहेका होटल बन्दना, बेञ्जु, गोल्डेनलगायत होटलमा एक सातादेखि पर्यटक भरिन थालेका छन् । होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठका अनुसार दैनिक एक सयभन्दा बढीको सङ्ख्यामा पर्यटक आउन थालेका छन् ।

मुस्ताङ पुगेपछि उपल्लो मुस्ताङ जाने पर्यटकको सङ्ख्यामा पनि पछिल्लो समय वृद्धि भएको छ । मुस्ताङ जानका लागि म्याग्दीबाट कच्ची सडक प्रयोग गर्नुपर्छ । मौसम सुरु भएसँगै दैनिक मोटरसाइकलमा मात्रै सयौँको सङ्ख्यामा पर्यटक मुस्ताङ घुम्नका लागि जान थालेका पर्वतका ट्राफिक प्रमुख महेन्द्र रानाभाटले जानकारी दिए। उनकाअनुसार बिहीबार मात्रै बस, मोटरसाइकल र जिप गरी झन्डै ५०० को सङ्ख्यामा मुस्ताङतर्फ गएका छन् ।

मुस्ताङबाट फर्केपछि पर्वतमा रहेका नेपालकै अग्लो तीनवटा पुल र गुफा अवलोकनका लागि कुश्मामा झर्ने गरेका होटल बेञ्जुका सञ्चालक विषमकुमार श्रेष्ठ बताउँछन् । विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने मुस्ताङ आजभोलि स्वदेशी पर्यटकको समेत रोजाइमा पर्न थालेको छ । मुस्ताङ घुम्ने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको छ ।

प्राचीनकालमा निर्माण गरिएका गुम्बा, काँचो माटोबाट निर्मित घर, दरबार र घरका रूपमा प्रयोग भएका गुफा मुस्ताङको आकर्षण हो । कला र हिमाली संस्कृतिको अध्ययन तथा अनुसन्धानका लागि पनि सो क्षेत्र महत्वपूर्ण मानिन्छ ।

 


क्लिकमान्डु